निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलो पटक अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ । अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो ।

नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । इ.एच.एस. (पेइङ क्लिनिक)तर्फ परीक्षण गर्नेले अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्म अनलाईनमार्फत टिकट लिन सक्नेछन् ।

अस्पतालले अनलाईन सेवा प्रयोग गर्ने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएको छ । अनलाईन सेवामार्फत टिकट खरिद गर्ने सेवाग्राहीले ओ.पि.डी.मा जचाउन पहिलो ग्राह्यता पाउने र रु ५ फिर्ता समेत पाउने छन् । हाल अनलाईन सेवामा सिमित टिकट राखिएको र विस्तारै सेवाग्राहीको माग अनुसार टिकट संख्या बढाउँदै लग्ने अस्पतालले जनाएको छ ।

अनलाईन सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्छ । त्यसपछि प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामति अस्पताल (सिभिल सर्भिस हस्पिटल) मा जानुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ ।

त्यहाँ पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओ.पि.डी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको शुल्क प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ ।

निजामती अस्पतालले यस अघि बिरामीको ल्याब रिर्पोट पनि अनलाईनमार्फत हेर्न मिल्ने बनाएको छ । यस अस्पतालबाट दैनिक ८ सय भन्दा धेरै बिरामीले ओ।पि।डि सेवा लिर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस