काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद डा बिमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ ।
छलफलमा सहभागी सांसदहरुले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्ने सांसद डा राईको प्रस्तावको समर्थन गर्दै सोसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो प्रस्तावमाथि उठेका प्रश्नको उत्तर दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री भइसकेपछि पहिलोपटक राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिक संस्कृति र नेपालका प्रमुख विशेषतालाई झल्काउने खालको विविधतालाई समेटने तयारी भएको जानकारी दिए ।
मन्त्री भट्टराईले मौलिक कला र संस्कृति जोगाइराख्न भूकम्पबाट क्षतिग्रस्त २७८ सम्पदा पुनर्निर्माण भइसकेको र दुई वर्षभित्र ३८९ वटा सम्पादा पुनर्निर्माण गर्ने तयारी भएको स्पष्ट पारे । पुनर्निर्माणमा नेपालबाट मात्र नभई दातृ राष्ट्रबाट पनि सहयोग आउने भएकाले समयमै निर्माण गर्न कठिनाइ हुने जानकारी दिँदै नेपालको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिन सबै मन्त्रालय र सरोकारवालापक्षसँग आग्रह गरे ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरललाई कार्यवाहक प्रधानमन्त्री तोकिएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएकाले दैनिक प्रशासनिक कामकारवाहीका लागि नेपालको संविधानअनुसार उपप्रधानमन्त्री पोखरेललाई कार्यभार तोकिएको थियो ।
यसैगरी प्रधानमन्त्रीको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएकोबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते आइतबार १ बजे बस्नेछ ।







