रासायनिक मल नपाउँदा किसान निराश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रासायनिक मल नपाउँदा किसान निराश


२१ श्रावण २०७६, मंगलबार


राँझा । रासायनिक मलको अभावका कारण बाँकेका किसान निराश बनेका छन् । रासायनिक मल खरीदको लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरु रित्तो हात घर फर्किन बाध्य छन् ।

बाँकेमा रासायनिक मल खरीद बिक्रीको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीमा किसानको माग बढी हुने बेला रासायनिक मलको मौज्दात रित्तिएपछि कृषक समस्यामा परेको कार्यालयका निमित्त प्रमुख रमेश पौडेलले बताए । उनका अनुसार आइतबार मात्रै एक हजार बोरा युरिया मल जिल्लाका ७६ वटा सहकारीलाई वितरण गरिएपछि अब मौज्दात सकिएको छ ।

आव २०७६/७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको हो । केन्द्रबाट मल नआएपछि जिल्लामा अभाव भएको छ । कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालयले नयाँ आर्थिक वर्षका लागि मल खरीद गरिसके पनि भदौ पहिलो हप्तासम्म मात्रै नेपालगञ्ज आइपुग्ने पौडेलले जानकारी दिए ।

धान रोपेको २१ दिनपछि किसानलाई युरिया मल आवश्यक पर्छ, यो बेला मल नपाउँदा कृषक उत्पादन कम हुने चिन्तामा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनका अनुसार बाँकेमा करीब ९७ प्रतिशत कृषकले धान रोपिसकेका छन् । मुख्यबाली धान रोपेका किसानले बेलैमा मल हाल्न नपाउँदा चिन्तित हुनु स्वभाविक भएको उनको बुझाइ रहेको छ ।

मलका लागि दैनिक रुपमा किसान सहकारी संस्थाहरुमा पनि धाउने गरेका छन् । कोहलपुर स्थित साझा सहकारीका अध्यक्ष पारसनाथ थारुले दैनिक १०० बढी किसान युरिया मलको लागि आउने गरेको भए पनि किसानलाई मल दिन नसकिएको बताए । अघिल्लो आवमा एक हजार ४८० क्वीन्टल ५० किलो युरिया मल बिक्री गरिएको भए पनि यस वर्ष मल खरीद गर्न नपाउँदा बिक्री गर्न सकिएको छैन ।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख पौडेलका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आव २०७५/७६ को असार मसान्तसम्म रासायनिक मल चार हजार ६०० टन, डिएपी एक हजार ९७२ र पोटास ४९ टन बिक्री गरेको छ । कम्पनीले युरिया तीन हजार टन, डिएपी एक हजार ६०० र पोटास ७० टन बिक्री गर्ने वार्षिक लक्ष्य लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस