स्वास्थ्यको समायोजनमा दलगत आस्था र चलखेल गरेको भन्दै ध्यानाकर्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यको समायोजनमा दलगत आस्था र चलखेल गरेको भन्दै ध्यानाकर्षण


२० श्रावण २०७६, सोमबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हाल गरिरहेको समायोजनको विषयमा नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालले ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको समायोजन गर्दा सामान्य प्रशासन मन्त्रालयले पठाएको मापदण्ड विपरीत दलगत आस्था र चलखेलको आधारमा एकलौटी समायोजन गरिरहेकोले तत्काल सच्चाउन आवश्यक भएको भन्दै पार्टीको तर्फबाट पहल गरी दिन आइतबार संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरी अनुरोध गरेको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको केन्द्रीय सदस्य रामकुमार धमलाले बताए ।

सङ्घका अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरू जगत् नेपाली, रामहरि ढकाल, त्रिलोक गुरुङ , राधा सिलवाल, अन्जु बस्नेत, विष्णु फुयाँल, हिमाल तिवारी, तोप थापा र सिद्ध प्रसाद ढुङ्गाना लगायतको टोलीले सिंहदरवार स्थित संसदीय दलको कार्यालयमा पुगी नेता नेम्ववाङलाई भेटेको हो ।

भेटमा स्वास्थ्य क्षेत्रमा भएको समस्याको विषयमा पार्टीलाई जानकारी भएको र तत्काल समाधान गर्न पहल गर्ने नेता नेम्वाङले आश्वासन दिएका थिए ।

मापदण्ड विपरीत समायोजन गर्न दिन्न : सामान्य सचिव कोइराला
सो सङ्घको पदाधिकारी सद्स्यहरुको टिमले सामान्य प्रशासन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई पनि भेट गरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी समायोजनको अपारदर्शी र एकलौटी ढङ्गले गरिरहेको प्रति ध्यानाकर्षण गराएका छन् ।

भेटमा सचिव कोइरालाले सामान्यले पठाएको मापदण्ड विपरीत कुनै पनि हालतमा समायोजन गर्न नदिने विश्वास दिलाएको केन्द्रीय सदस्य धमलाले बताए ।

समायोजन गर्दा पद, तह र पायक पर्ने प्रदेश मिलान नभई समस्या भएमा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी संरचना संशोधन गरेर भए पनि समाधान गर्ने आश्वासन सचिव कोइरालाले दिएको धमलाले बताए ।

सचिव कोइरालाले स्वास्थ्यकर्मीको स्तरवृदि समायोजन सकिएपछि गरिने बताइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन कार्य समापन भई सकेको घोषणा गरे पनि स्वास्थ्य सेवाका कर्मचारीको समायोजन अझै सकिएको छैन भने अन्य सेवातर्फपनि मिलान गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस