‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता


९ श्रावण २०७६, बिहिबार


बाँके । बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्नुका साथै निःशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्रसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको अध्यक्ष कक्षपतिको भनाइ छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गतामैत्री भौतिक पूर्वाधारहरु पनि निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाले सबै वडा कार्यालयबाट घुम्ती सेवा सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक महिनाको ५ गते अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण गर्दैै आइरहेको जनाएको छ । अपाङ्गता भएका नागरिकलाई प्रमाणपत्रबाट लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले घरदैलोमै पुगेर परिचयपत्र वितरण गरिरहेको उपाध्यक्ष विकले बताए ।

त्यसो त गाउँपालिकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । खजुरा गाउँपालिका–१ वीरपुरका ७९ वर्षीय दयाराम थापा क्षेत्रीले हिँड्डुल गर्न गाह्रो भइरहेका बेला घरमै भत्ता बुझ्न पाएकामा खुशी व्यक्त गरे ।

उनले भने, ‘दम बढ्ने, हिँड्डुल गर्न नसक्ने, अरूको सहारा चाहिने अवस्था भइसक्यो, यस्तो बेला घरमै आएर भत्ता बुझाइदिएका छन् । म यो सरकाराई धन्यवाद दिन्छु’, थापाजस्तै गाउँपालिका–१ कै ८६ वर्षीय प्रेमबहादुर गुरुङले घरमै भत्ता ल्याइदिएकामा खुशी व्यक्त गर्दै भने, ‘साँच्चिकै सरकार घरमै आएको रहेछ । सरकारले हामीजस्ता बूढाबूढीलाई भत्ता दिएर बाँच्ने आधार बनाइदिएको छ ।’

खजुरा गाउँपालिकाले आव २०७५/७६ मा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिलगायत गरी ६ हजार ६० जनालाई रु ९५ करोड ६९ लाख पाँच हजार ४०० सामजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस