टी-२० विश्वकप छनोट : नेपाल कतारसँग ४ विकेटले पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टी-२० विश्वकप छनोट : नेपाल कतारसँग ४ विकेटले पराजित


७ श्रावण २०७६, मंगलबार


काठमाडौं । टी-२० विश्वकपको एसियाली छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १ सय २३ रनको लक्ष कतारले ६ विकेटको क्षतिमा ४ बल अगावै भेट्टाएको हो।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपालले सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल खडा गरेको थियो।

सटिक सुरुवात गरेका २ अनुभवी ब्याट्सम्यान कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।

पारसले २८ रन बनाउँदा ज्ञानेन्द्र २३ रनमा पेवेलियन फर्किए। पारसको पारीमा ४ चौका र १ छक्का तथा ज्ञानेन्द्रको पारीमा २ चौका र १ छक्का सामेल थियो। प्रारम्भिक जोडी पेवेलियन फर्किएपछि नेपालले लगातार अन्तरमा विकेट गुमाएको थियो। १ सय ५० रन सम्मको लक्ष्य दिने सोचिएको नेपालले खराब ब्याटिङ गर्दा पराजित हुन पुगेको हो।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए। मध्यक्रममा सरद भेसवाकर (७ रन) र सोमपाल कामी (११ रन)मा आउट भएपछि दीपेन्द्रमाथि दबाब बढेको थियो। उनले ३५ बलको सामना गर्दा १ चौका र १ छक्का मात्रै प्रहार गर्न सके। घाइते भएका कारण मलेसियासँगको मैत्रीपूर्ण क्रिकेट शृंखला गुमाएका उनले आजको खेलमा जिम्मेवारी पूर्ण ढंगबाट ब्याटिङ गरेका थिए।

मलेसियाविरुद्ध विस्फोटक अर्धशतक प्रकार गरेका विनोद भण्डारी आजको खेलमा भने ३ रनमै समेटिए। करण केसी ४ रनमा आउट हुँदा सन्दीप लामिछाने ९ रनमा रनआउट हुन पुगे।

कतारका नोमन सरवार, इकवाल हसन र तमोर साजदले समान २/२ विकेट हात पारे। इनाम उलको नाममा १ विकेट रह्यो।

१ सय २३ रनको लक्ष्य पछ्याएको कतारका इनाम उल हकले रनआउट हुनुअघि ४१ रनको पारी खेले। ३२ बल खेलेका उनले ६ चौका हिर्काएका थिए। कमरान खानले २२, नोमन सरदारले १५ तथा जाहिर इब्राहिमले १२ रनको योगदान दिए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसीको नाममा एक विकेट रहँदा कतारका २ ब्याट्सम्यान रनआउट हुन पुगेका थिए।

नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस