कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ


२१ असार २०७६, शनिबार


कञ्चनपुर । प्रर्याप्त वर्षा नहुँदा जिल्लामा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । महाकाली सिँचाइको क्षेत्रमा ७० प्रतिशत बढी रोपाइँको कार्य सकिए पनि अन्य क्षेत्रमा थोरै मात्र रोपाइँ भएको छ ।

वर्षा नहुँदा रोपाइँको कार्य बढी हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ महेशचन्द्र जोशीले बताए । उनले भने, “अधिकांश किसानले वर्षाको पानीमा बढी विश्वास गर्ने भएकाले रोपाइँ थोरै भएको छ ।” उनकाअनुसार जिल्लामा अझै ६५ प्रतिशत खेतमा रोपाइँ हुनसकेको छैन । यसै अवधिमा गत वर्ष ७५ प्रतिशत रोपाइँको कार्य सकिएको थियो ।

प्रर्याप्त वर्षा नहुँदा अधिकांश रोपाइँ गरेका किसानको रोपेको धान सुक्न थालेको छ । नदी र खोलाबाट अधिकांशले पम्पसेटबाट पानी तानेर रोपाइँ गर्ने भए पनि लामो समयदेखि वर्षा नहुँदा खोला सुक्न थालेका र पम्पसेटबाट पानी आउन छाडेको छ ।

धेरै किसानले खोला र नदीबाट पानी तान्न थालेपछि खोला तथा नदी सुक्न थालेका हुन् । खेतमा सिँचाइँका लागि गाडेका अधिकांश किसानका विद्युतीय मोटरबाटसमेत पानी आउन छाडेको छ । लामो समयसम्म वर्षा नहँुदा मोटरमा पानी आउन छाडेको शुक्लाफाँटा नगरपालिका–२ जोनापुरका किसान चेतराम चौधरीले बताए ।

बीउ पहिले नै छरेका कारण समयमै रोपाइँ गर्न नसक्दा उत्पादनसमेत घटने किसान कालुराम चौधरीले बताए । रोपाइँका लागि वर्षाकै मुख ताक्नु परेको उनले बताए। कञ्चनपुरमा ४८ हजार ३९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस