यार्सागुम्बा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यार्सागुम्बा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु


२३ जेष्ठ २०७६, बिहिबार


दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए ।

व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर ५ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । अनुगमन तथा सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुको टोलीले बालकको शव घरसम्म पुर्‍याइदिएको छ ।

यार्सा पाटनमा १६ वर्षमुनिका बालबालिकाहरुलाई जान नदिने भन्ने व्यवस्था यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा स्पष्ट उल्लेख छ । तर दार्चुलाका जिल्लाका यार्सा पाटनहरुमा दुधे बालकदेखि १६ वर्षमुनिका सयौं बालबालिका यार्सा पाटनमा गएका छन् ।

यार्सा पाटनमा अनुमति पत्र लिएकाहरुमध्ये २० जनालाई १० लाखका दरले दुर्घटना बीमा उपलब्ध गराउने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । तर विष्टलाई बीमा सुविधा उपलब्ध गराउने वा नगराउने अन्योल छ ।

विष्टसंग अनुमति पत्र भए बीमा सुविधा दिइने अपिनाम्प संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिँह ह्याकीले बताए । तर १६ वर्षमाथिकाले मात्र अनुमति पाउने भएकाले विष्टसँग परिचय पत्र छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस