कर्मचारी अभावका कारण सचिवको काम गर्दै जनप्रतिनिधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी अभावका कारण सचिवको काम गर्दै जनप्रतिनिधि


२० जेष्ठ २०७६, सोमबार


बैतडी । बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताए ।

नगरपालिकाभरि दुई जना सचिव रहेको उनले बताए । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा पाउने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले गुनासो गरे ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा पाउन सकिएको छैन भने स्थानीय तहमा पनि कर्मचारीकै अभाव रहेको छ । कर्मचारी नहुँदा वडाका काम प्रभावित हुने गरेको मेलौली नगरपालिका– ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिए। सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले सास्ती पाइरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस