सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी


७ जेष्ठ २०७६, मंगलबार


लम्की । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत ११ महीनादेखि तलब पाएका छैनन् । ‘राजनीतिक दाउपेचको शिकार बनेको सुदूरपश्चिम विश्वविद्यालय पछिल्लो पटक यस्तै अस्थिरताका कारण सङ्कटमा परेको छ’, सुप विश्वविद्यालय प्राध्यापक संघ टीकापुर बहुमुखी क्याम्पस एकाइ समितिका सभापति रामप्रसाद तिवारीले भने । उनले विश्वविद्यालयको आङ्गिक टीकापुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा आज संघले तालाबन्दी गरेको बताए ।’

एकाइ समितिका सभापति तिवारीले यसै आर्थिक वर्षको साउन १ गतेदेखि १४ क्याम्पसमा समायोजन नियुक्ति पाएका शिक्षक कर्मचारीको तलबभत्तालगायतको बजेट विश्वविद्यालयसभाबाट पारित भएता पनि हाल नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताए । ‘एक हप्तामा समस्या समाधान नगरिए क्याम्पसको प्रशासनिक तथा शैक्षिक क्रियाकलाप बन्द गर्छौं’, तिवारीले भने ।

सुदूर पश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा गोविन्दसिंह विष्ट भने विश्वविद्यालय सभाको बैठकपछि समायोजनका सबै समस्या समाधान हुने बताउछन् । डा.विष्टले विश्वविद्यालय सभाको निर्णयानुसार भत्ता र सञ्चयकोष हुने गरी अहिले आधारभूत तलब क्याम्पसको खातामा निकासा गरिसकिएको बताए । कार्यकारी परिषद्ले समायोजन भएका शिक्षक कर्मचारीका लागि असहज नहुने गरी सभामा प्रस्ताव लैजाने आश्वासन आफूहरुले दिएको भए पनि प्राध्यापक र कर्मचारीले नमानेको विष्टले बताए । रासस

प्रतिक्रिया दिनुहोस