खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि


३० बैशाख २०७६, सोमबार


रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा सडक सुविधा पुगको छैन् । सडकसञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । भौगोलिक विकटताका कारण स्थानीयबासी स्वास्थ्यसेवाबाट बञ्चित छन् । यातायातको सुविधाबाट बञ्चित भएका स्थानीयबासीलाई स्वास्थ्य सेवा दिन औषधिसहितको स्वास्थ्य टोली गाउँमै गुगेको छ ।

जब आइतबार खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली रिवाङचौर स्वास्थ्यचौकीमा पुग्दा स्थानीय दङ्ग परे ।

राम्रो स्वास्थ्य सेवाको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेको बेलामा घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा राम्रो स्वास्थ्य सेवा पाउने भयौँ भन्दै स्थानीय खुशी भए । सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गरिन् ।

शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ । शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले बताए । साथै शिविरमा ज्वरो, आउने, टाउको दुख्नेलगायत अन्य रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए । शिविरमा आउने प्रायः महिला, वृद्धवृद्धा रहेका छन् ।

लाजका कारण ग्रामीण भेगका कतिपय नागरिक रोग लुकाएर बस्ने गरेको र तीनै समस्यालाई निर्मूल पार्न स्वास्थ्य शिविरको आयोजना गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता लीलामणि गौतमले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम (पश्चिम) को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको हो । शिविरको उद्घाटन गर्दै गर्दासम्म २१२ ले नाम दर्ता गरिसकेको अस्पतालका प्रबन्धक भारतीले बताए ।

जिल्लाका विकट गाउँमा अहिले पनि यातायातको साधनको रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरिएको छ तर, दुर्गम क्षेत्रमा खच्चडमार्फत् औषधि ढुवानी गरी नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् सेवा दिएको जिल्लामै यो पहिलोपटक भएको कार्यक्रम सहजकर्ता गौतमले बताए । रासस

प्रतिक्रिया दिनुहोस