सार्वजनिक बसमा ‘फस्ट एड बक्स’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सार्वजनिक बसमा ‘फस्ट एड बक्स’


२८ बैशाख २०७६, शनिबार


गलकोट । वेलनेश टिम काठमाडौंको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा उपलब्ध गराउन शुरु गरिएको छ ।

समिति मातहतमा रहेका २०० बसमा यात्रुलाई सेवा प्रदान गर्नका लागि औषधिको फस्ट एड बक्स (पहिलो सहायता बक्स) राख्न शुरु गरिएको धवलागिरि अञ्चल यातयात बस व्यवसायीले जनाएको छ । नेपालमै पहिलोपटक बागलुङदेखि सञ्चालन हुने बसमा औषधिको बक्स राख्न शुरु गरिएको बेलनेश टिमका अध्यक्ष नितु खड्काले बताए । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताए ।

स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफूलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बसलाई बक्स वितरणसँगै औषधिको प्रयोगका बारेमा पर्चासहित तालीम दिइने अध्यक्ष खड्काले जानकारी दिए ।

औषधि बक्स सर्वसाधारणलाई समेत वितरण गर्ने वेलनेशले जनाएको छ । एक हजारमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम ५० सम्ममा वितरण गर्ने जनाएको छ । बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजार रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले जानकारी दिए ।

बसमा यात्रा गर्दा बिरामी भएर यात्रुलाई असहज हुने गरेकाले त्यसको अन्त्यका लागि बसमा प्राथमिक उपचारका औषधि राखिएको धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए । बसमा राखिएका औषधि यात्रुलाई निःशुल्क वितरण गरिने जानकारी उनले दिए ।

बागलुङदेखि काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, नारायणगढ, वीरगञ्जलगायतका ठाउँमा चल्ने समितिका यातायातमा सो औषधि बक्स राख्ने धवलागिरी बस व्यवसायी समितिले जनाएको छ । औषधि बक्स समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरिएको छ ।

पञ्चकोटमा केबलकार बन्ने

बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ । बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको हो ।

चीनको एक केवलकार कम्पनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर काम थालनी गर्न प्रस्ताव गरेका छन् । नेपाल सरकारले पञ्चकोटलाई १०० पर्यटकीयस्थलको सूचीमा राखेपछि दैनिक पञ्चकोटमा सयौँ धार्मिक पर्यटक आउने गरेका छन् । पञ्चकोटको प्रचारप्रसारका कारण मुक्तिनाथ जाने तीर्थालुसमेत बागलुङको पञ्चकोट आउन थालेका हुन् । केबलकार निर्माण भएपछि बागलुङमा पर्यटकको सङ्ख्यामा तेब्बरले वृद्धि हुने अपेक्ष गरिएको छ ।

पञ्चकोटमा हाल निर्माण भइसकेका कलाकौशलले भरिपूर्ण, गरुड शिला, सिसमहललगायतका संरचनाले पर्यटकलाई आकर्षित गरेको पाएपछि बागलुङ नगरपालिकाले केबलकारको प्रस्ताव गरेको हो । वार्षिक एकलाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पञ्चकोटमा बनाइने भनिएको संसारकै अग्लो विश्व शान्ति कलश र अन्य संरचना निर्माणपछि पर्यटकलाई आकर्षित गर्न केबलकारको प्रस्ताव ल्याइएको हो । पञ्चकोटमा हाल भारतीय पर्यटकको आर्कषण छ । केबलकार निर्माण गर्दा बागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने देखेर प्रस्ताव गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

“जनप्रतिनिधि भएपछि जनताको हित र विकासका लागि सम्भावना खोजी गर्ने क्रममा केवलकारकोे सम्भावना देखियो”, पौडेलले भने, “आम नगरवासीको लगानीमा केवलकार निर्माण गर्न सकियो भने सोचेभन्दा बढी फाइदा पुग्ने छ ।” सबैसँग खुला छलफलबाट केवुलकार निर्माण गरिनुपर्ने धारणा आइसकेको र अझै पनि स्थानीयसँग बसेर निष्कर्षमा पुगिने नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक तथा ४ नं का वडाध्यक्ष धु्रवबहादुर केसीले बताए। केबलकार निर्माणका लागि चीनको बेइजिङस्थित गुडयु रोपे इञ्जिनीयरिङ कम्पनीका सिइओ रुआन बिआओले प्राविधिक सहयोग गर्न तयार रहेको बताएका छन् । केबलकार साढे दुई किलोमिटर लामो हुनेछ ।

प्रारम्भिक अध्ययनपछि केबलकारको लागत निस्कने प्राविधिकले बताएका छन् । नगरप्रमुख चीन भ्रमणमा गएको बेला केबलकार निर्माणमा चासो राखेपछि चिनियाँ कम्पनी र नेपाली केही इञ्जिनीयरको पहलमा प्रारम्भिक अध्ययनको काम थालिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस