कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै


२५ बैशाख २०७६, बुधबार


कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु ३० लाख मूल्य बराबरको दैनिक २५ हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो ।

दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका साथै पर्यटक भित्रिने गरिएकाले पनि दूधको माग अत्यधिक हुने गरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले जनाएको छ ।

जिल्लाको समग्र ग्रामीण क्षेत्रमा दूधको उत्पादन हुने गरेको भए पनि व्यावसायिक दृष्टिकोणले पोखरा महानगरपालिकाका वडा नं २९, ३० र ३३ का साथै माछापूच्छे« गाउँपालिकामा पनि ठूलो परिमाणमा दुध उत्पादन हुने गरेको बताइएको छ ।

दूधको मागलाई आपूर्ति गर्न सबैभन्दा बढी स्याङ्जाबाट भित्रिने गरेको छ । यसका साथै नवलपरासी र रुपन्देहीबाट भित्रिने गरिएको सो कार्यालयले जनाएको छ । दूध उत्पादक सहकारी संस्था २५ रहेको कास्कीमा ३०९ गाईका फार्म र ३८३ भैंसीका फार्म अधिकारिक रुपमा दर्ता रहेका छन् ।

न्यूनतम पाँचवटा गाई वा भैँंसी भएपछि फार्मको रुपमा दर्ता गर्ने गरिएको छ । कतिपय फार्ममा २ सय भन्दा बढी गाई तथा भैँंसी रहेका सो कार्यालयका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

कास्कीमा किसानलाई पशुपालनतर्फ आकर्षित पार्नका लागि सरकारले अनुदान पनि दिने गरेको छ । गाई र भैंसी पाल्ने किसानको बस्तुस्थितिको अध्ययनका साथै प्रतिस्पर्धामा अनुदान दिने गरिएको हो । किसानको क्षमताअनुसार रु २ लाख पचास हजार, रु दुई लाख र रु एक लाख पचास हजार रकम सरकारले अनुदान दिने गरेको छ ।

अनुदान रकम बराबरको रकम किसानलाई दिनुपर्ने नियम रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । सो कार्यालयले चालु आर्थिक वर्षमा ३९ फार्मलाई अनुदान दिने भएको छ । अनुदान दिएपछि कार्यालयले सो रकमको सदुपयोग भयो कि भएन् भन्ने विषयमा पटक/पटक अनुगमणसमेत गर्ने गरेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस