चौरमा बसेकालाई लालपुर्जा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चौरमा बसेकालाई लालपुर्जा


१६ चैत्र २०७५, शनिबार


वालिङ । घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई वडा कार्यालयले शुक्रबार लालपुर्जा प्रदान गरेको छ ।

वालिङ नगरपालिका–२ को छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए । वि.सं. २०७२ को भूकम्पपछि उनीहरु घरबारविहीन बनेका थिए । वडा कार्यालयले घर जग्गा नभएका घरपरिवारलाई लालपुर्जा वितरण गर्ने सरकारको कार्यक्रमअन्तर्गत आवश्यक सबै प्रक्रिया पूरा गरेर स्थानीय जग्गाधनी ख्यामनारायण काफ्लेको नाममा रहेको जग्गा खरीद गरी प्रदान गरेको हो ।

भूकम्प लाभग्राहीलाई जग्गाको लालपुर्जा प्रदान गर्दै वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले वडाले उपलब्ध गराएको जग्गाको धेरैभन्दा धेरै सदुपयोग गर्न आग्रह गरे । ‘नगरपालिकाको नियमअनुसार साढे दुई आनामा बनाइएका घरको नक्सापास दिइन्छ’ नगरप्रमुख खाँणले भने, ‘तपाईंहरुले नौ÷नौ आना जग्गा प्राप्त गर्नुभएको छ, यस जग्गामा घर निर्माणसँगै अन्य उपयोगीमूलक कार्य पनि गर्न सकिन्छ ।’ आफ्नो जग्गा नभएर केही वर्षदेखि चौरमै बस्दै आएका भूकम्प लाभग्राहीले जग्गा पाएपछि खुशी व्यक्त गरेका छन् ।

‘वडाले नौ÷नौ आना जग्गा दुई÷दुई लाखका दरले खरीद गरी जग्गाविहीन दुई विक परिवारलाई प्रदान गरेको हो’, वडाध्यक्ष लम्सालले भने, ‘घरबारविहीन भएका भूकम्प लाभग्राही परिवारलाई निःशुल्क जग्गा उपलब्ध गराउने यो वडा नै पहिलो हो ।’ रासस

Tags :
प्रतिक्रिया दिनुहोस