क्याम्पसको पढाई प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्याम्पसको पढाई प्रभावित


९ चैत्र २०७५, शनिबार


बेत्रावती । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।

तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले यही ७ देखि १२ गतेसम्म क्याम्पस बिदा दिएपछि विद्यार्थीले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता र तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उक्त क्याम्पसमा यही चैत १० गते स्ववियु निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा चुनाव गराउन आवश्यक वातावारण सिर्जना गर्नुको साटो क्याम्पस प्रमुख नारायणमान डङ्गोल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पस बिदाको सूचना जारी गरेपछि विद्यार्थी आक्रोशित भएका अनेरास्ववियुबाट सभापतिका प्रत्यासी विष्णुहरि रिमालले बताए।

क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तरसम्म एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् । “क्याम्पसको भौतिक संरचनाको भाडाबाट मासिक लाखौँ आम्दानी हुने भए पनि आर्थिक प्रतिवेदनमा भने नोक्सान देखाइने गरेको छ”, रिमालले भने ।

विद्यार्थीले क्याम्पसमा पठनपाठनको माग गर्दैै विरोध प्रदर्शन गरेको विषयलाई लिएर क्याम्पसका अध्यक्ष श्रेष्ठ निकट विद्यार्थीले अनेरास्ववियुबाट सभापतिका प्रत्यासी रिमाललाई ‘गोली हानेर ज्यान लिने’ धम्की दिएपछि विद्यार्थीले प्रहरी र प्रशासनलाई ज्ञापनपत्र बुझाएर सुरक्षाको माग गरेका छन् ।

क्याम्पस खुलाउन शुक्रबार दिनभर क्याम्पस प्रमुख डङ्गोलसहित राजनीतिक दल, विद्यार्थी सङ्गठनलगायतको जिल्ला प्रशासन कार्यालयमा भएको प्रयास असफल भयो । बिदा भए पनि विद्यार्थी क्याम्पसमा भेला भएर दैनिक रूपमा नाराबाजी गर्दै अध्ययन हुनुपर्ने माग गर्दै आएका छन् ।

उक्त क्याम्पसमा वि.सं. २०६५ पछि हालसम्म स्ववियु निर्वाचन भएको छैन । हाल स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङ्घले दर्ता गराएका छन् । तोकिएको मितिमा निर्वाचन गराउन सबै तयारी भए पनि क्याम्पस प्रशासनको उदासिनताले द्वन्द्व उब्जिएको नेविसङ्घबाट स्ववियुमा सभापतिका प्रत्यासी सुरज सिलवालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस