काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति तथा समुदायका फरक परम्परा तथा संस्कृतिको संरक्षण र संवर्द्धनबाट देश सम्पन्न हुने बताएका छन ।
बल्खु तराई समाजले फागु पर्वका अवसरमा आज आयोजना गरेको सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै नेता श्रेष्ठले मुलुकमा रहेको विविधतालाई एकताबद्ध गरी एकापसमा सद्भाव कायम गर्ने यस पर्वले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘प्राचीन समयदेखि कुनै न कुनै मान्यता र विश्वासका आधारमा परम्परा, रीतिरिवाजका अभ्यास गरिएका छन्, तिनका वैज्ञानिक आधार छन्, तिनको गहिरो अध्ययन अनुसन्धानको खाँचो छ ।’
‘हाम्रा वेशभूषा, भाषा, कलासंस्कृति पहिचान हुन्, यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने ।
समाजका अध्यक्ष हरिकान्त पाठकले असत्यमाथि सत्यको विजयको सन्देश दिन गरिने फागु पर्वलाई प्रवर्द्धन गर्नका लागि विगत एक दशकदेखि सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी गराए ।
काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको मानिन्छ ।
उक्त दिन शुभसाइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजापताकाले सजाएर ‘चीर’ उठाइएपछि सो पर्व फागु पूर्णिमा (आज) सम्म मनाइन्छ ।आज राति शुभसाइतमा ‘चीर’ दहन गरिन्छ ।







