मङ्गलबारे । कर्मचारी अभावका कारण गाउँपालिकाका वडामा वडा सचिवको काम प्राविधिकले गरिरहेका छन् ।
फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्षी शर्मा र फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरुपा राईले वडा सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।
गाउँपालिका घोषण भएको दुई वर्ष पुगिसक्दा पनि जिल्लाको दुर्गम गाउँपालिकाका सात वटा वडामध्ये तीन वडामा मात्र सचिव रहेका छन् । अन्य वडामा अरु कर्मचारीले नै दुई तिरको जिम्मेवारी सम्हाल्दै आएका छन् । जसले गर्दा दैनिक कार्य सम्पादनमा समस्या आएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगे पनि कर्मचारी र भवन अभावले स्थानीयलाई समस्या परको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन बन्न ढिलाइ हुँदा भाडाका घरमा मुस्किलले काम चलाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।
फाकफोकथुम गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । गाउँपालिकाको क्षेत्र ठूलो र कर्मचारी कम हुँदा काम गर्न निकै कठिन भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी बताउँछन् ।
योजना छनोट देखि डिजाइन स्टमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्य योजना अनुसार विकासका गतिविधि अगाडि बढाउन कठिनाइ भएको सुवेदी बताउँछन् । उनले गाउँपालिकामा प्रशासकीय अधिकृत, इञ्जिनीयर, अधिकृतसहित ३३ वटा स्वीकृत दरबन्दी रहे पनि हालतीन जना अधिृतसहितका १६ वटा दरबन्दी खाली रहेको बताए । सरकारले समायोजन गरेका कर्मचारी गाउँपालिकासम्म पुगि सकेका छैनन् ।
सरकाले चाँडो कर्मचारी व्यवस्थापन गरेर कार्य सम्पादनलाई सहज बनाउन कुनै सुनुवाइ नगरेको उनको गुनासो छ । करीब १० करोडको विकास खर्च रहेको फाकफोकथुम गाउँपालिकामा १० प्रतिशत मात्रै प्रगति भएको छ । केही योजना कार्यान्वयनको चरणमा रहको गाउँपालिकाले जनाएको छ ।







