सरकारले हामीलाई हेप्यो : नेपाली महिला क्रिकेटर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारले हामीलाई हेप्यो : नेपाली महिला क्रिकेटर


१८ फाल्गुन २०७५, शनिबार


काठमाडौं । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् ।

पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो । महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए ।

अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो । आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो । नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो ।

प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन् । रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन् । तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए । यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन् ।

अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश–दश हजार पुरस्कार प्रदान गरे । यसैगरी सरकारले जनही रु पाँच–पाँच लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन ।

थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो ।

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महिना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताए । दुई महिनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो । आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ ।

नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन् । ‘यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ’, उनको भनाइ थियो ।

दृष्टिविहीनको फाइन मन्त्रालयमै थन्कियो

युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो ।

दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगे । उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो । तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही रु एक–एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस