ताप्लेजुङ । “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।
घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुग्नुभएको थियो । कतै डोरी राखेर झुँन्डिदै पुगेका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी थिए । भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका थिए ।
हिजो बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको थियो । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । साँझ पनि हिमपात भइरहेको निरीक्षक थापाले बताए । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याइएको थियो । थापाले भने, “गर्दागर्दै रात पनि पर्यो, मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका थियौँ, बिहान पुनः हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।” हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो । बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडौँ लगिने छन् ।’







