काठमाडौँ । संघीय निजामती सेवा ऐनले निजामती सेवामा छुट्टाछुट्टै रूपमा रहने श्रेणी र तहबारे स्पष्ट व्यवस्था गरेको छ ।
प्रदेश र स्थानीय तहमा तहगतरुपमा तथा केन्द्रमा श्रेणी र तहगत(स्वास्थ्य) दुवै रहने भएकोले कुन तहको श्रेणी र तहका बिचको मिलान र समकक्षा के हुने भन्ने कुरा ऐनमा नै उल्लेख गरिएको हो ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ५ मा उल्लिखित श्रेणी र तहबारे गरिएको व्यवस्था अनुशार श्रेणीअन्तर्गत राजपत्रांकित विशिष्ट, प्रथम, द्वितीय र तृतीय रहनेछन् भने राजपत्र अनंकिततर्फ प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ रहेका छन् ।
त्यसैगरी नेपाल स्वास्थ्य सेवामा अधिकृत तह र सहायक गरी दुईतहमा बाँडिएको छ । जसअनुसार अधिकृत तहमा बाह्रौदेखि छैटौँसम्म छ भने सहायक तहमा तेस्रोदेखि पाँचौँसम्म कायम गरिएको छ ।
सोही दफाको उपदफा ३ मा नेपाल स्वास्थ्य सेवाको तह र संघीय निजामती सेवाको श्रेणीबारे समकक्षता उल्लेख गरिएको छ । जसअनुसार नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ निजामती सेवाको राजपत्रांकित विशिष्ट रहने छ । अधिकृत एघारौँ राजपत्रांकित प्रथम, अधिकृत दशौँ र नवौँ राजपत्रांकित द्वितीय, अधिकृत आठौँ, सातौँ, छैटौँ राजपत्रांकित तृतीय रहने छन् । त्यसैगरी स्वास्थ्य सेवा तर्फको सहायक पाँचौँ संघीय निजामती सेवाको राजपत्र अनंकित प्रथम, सहायक चौथो राजपत्र अनंकित द्वितीय र सहायक तेस्रो राजपत्र अनंकित तृतीय रहने व्यवस्था गरिएको छ ।
ऐनले संघीय निजामती सेवाका विभिन्न श्रेणी तथा तहमा तोकिए बमोजिमका प्राविधिक तथा अप्राविधिक पदहरूको व्यवस्था गरेको छ भने राजपत्र अनंकित तृतीय श्रेणी सहायक तेस्रो तहमा कुनै कर्मचारीको पदाधिकारी नरहेमा सो श्रेणी वा तहको पद स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।
यसका साथै ऐन प्रारम्भ हुँदाका बखत श्रेणी विहीन पदमा बहाल रहेका कर्मचारीलाई राजपत्र अनंकित पाँचौँ श्रेणीमा कायम गरिने व्यवस्था संघीय निजामती सेवा ऐनको विधेयकमा उल्लेख छ ।
हाल विधेयकको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ ।