काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) महासंघको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुँदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन २ दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।
सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उनले बताए ।
सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।
‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ’संयोजक तामाङले भने । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि आयोजकको विश्वास छ ।
सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनालाई निम्त्याइएको छ । सम्मेलनस्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अङ्कित नेपालको झण्डा राखिएको छ । उनले भने, ‘सम्मेलनको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिलेसँगै जिल्लाको नाम अङ्कित झण्डोत्तोलन गर्नेछन् ।’ सम्मेलनको तयारीका लागि करीब रु १ करोड खर्च लाग्ने आयोजकको अनुमान छ ।







