कोरिया रोजगारीको एक दशक : ६० हजार नेपाली कोरियाको श्रम बजारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरिया रोजगारीको एक दशक : ६० हजार नेपाली कोरियाको श्रम बजारमा


१२ पुस २०७५, बिहिबार


काठमाडौं । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै ५ लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा ४ लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ ।

भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । १ दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए ।

सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ भाषा परीक्षा सञ्चालन नभए पनि अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ६४ महिलासहित एक हजार ९११ युवाले कोरियाको श्रम बजारमा रोजगारीको अवसर प्राप्त गरेको शाखाले जनाएको छ ।

सन् २०१० मा २ हजार ३३९, २०११ मा ३ हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा ५ हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा ५ हजार ८६६, २०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८०० र सन् २०१८ मा ८ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए ।

निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने पाइएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् ।

सोहीअनुरुप कोरिया सरकारले वर्षेनी नेपाली कामदार लैजाने कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०१९ मा नेपालबाट यसअघिको भन्दा निकै ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने सङ्केत गरेको छ । कोरियाले सन् २०१९ मा विभिन्न देशबाट ५६ हजार आप्रवासी कामदार भित्र्याउने घोषणा गरिसकेको छ ।

सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको उनले बताए ।

आकर्षक सुविधा

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झण्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ ।

कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बीमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै कामदारको असामयिक मृत्यु भएमा उनीहरुले कुनै राहत पाउँदैनथे । अब भने अनायासमै मृत्युवरण गरेका श्रमिकका परिवारले रु तीन लाख आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ ।

अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि २ लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (४ वर्ष १० महीना), पुनःकोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको निर्देशक खनाल बताउछन् ।

यस्तै नेपाल र कोरिया सरकारबीच कोरियामा काम गरिरहेका कामदारले आफ्नो करार अवधिमा कम्तीमा पनि एकपटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जसअनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस