बाँके । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
प्रत्येक प्रहरी कर्मचारीहरूले आ(आफ्नो पद अनुसारको काम, कर्तव्य र जिम्मेवारी बोध गरी काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनप्रति सकारात्मक सोच राखी कर्तव्यमा कटिवद्ध रहन निर्देशन दिए । परिवर्तित समय अनुसार मानवअधिकारको सम्मान, संवर्द्धन र रक्षा गर्दै प्रहरीले सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले वैज्ञानिक प्रमाणहरू संकलन गरी अनुसन्धान गर्ने, प्रत्येक घटनालाई गम्भीरतापूर्वक लिने र प्रत्येक काम कानुन बमोजिम गर्नुपर्ने उल्लेख गरे । तस्करी नियन्त्रण, फरार अपराधीहरूको खोजी लगायत नियमित क्रियाकलाप सम्पादन गर्न प्रहरी कर्मचारी उच्च अनुशासनमा रही क्रियाशील रहनुपर्ने उनले चर्चा गरे ।
कार्यालयमा आवश्यक साधन स्रोत सहितको स्ट्याण्डवाई टोली तैनाथ राखी तत्काल खटिन सक्ने अवस्थामा रहनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले कार्यालय सामान व्यवस्थापन, प्रहरी पोशाक, सरसफाईमा उचित ध्यान दिनुपर्ने उल्लेख गरे। कार्यालयमा आउने गुनासो र पीडितको समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले विशेष जोड दिए ।
५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्वर अधिकारी र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही समेतको सहभागिता रहेको उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत युनिट, जिल्ला प्रहरी कार्यालय बर्दिया, प्रदेश दंगा नियन्त्रण प्रहरी गण कर्णाली प्रदेश सुर्खेत हाल नेपालगञ्ज र क्षेत्रीय सशस्त्र प्रहरी गण ५ नम्वर प्रदेश कोहलपुरका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो







