भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण सम्पन्न


११ पुस २०७५, बुधबार


काठमाडौं । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । गोरखा भूकम्पको साढे ३ वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन ।

रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६/७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए।

आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पुर्‍याएका सबै सम्पदा पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको छ ।

३२ वटै जिल्लाको गरी एक हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जनाइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले राससलाई जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस