मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा


१० पुस २०७५, मंगलबार


गलकोट । दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गरेन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल भएका छन् । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा (स्लेट) खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गरेका छन्।

“वि.सं. २०१७ देखि बाबु बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको ढुङ्गा खानीलाई वि.सं. २०७० देखि उद्योगका रुपमा विकास गरेको हुँ”, विश्वकर्माले भने, “समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिच्छाउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ ।”

पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हुँदै आएको विश्कर्माको भनाइ छ । विश्वकर्माले हाल ताराखोलामा ‘धौलागिरि एसटिएम ढुङ्गा उद्योग तथा इन्भेष्टमेण्ट कम्पनी’ दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका टायल, मार्बललगायतका वस्तुको कारोवार गर्दै आएका छन् ।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ ।

ताराखोलामा उत्पादन भएको ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । उद्योगबाट उत्पादन भएको ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको धनबहादुरले बताए । उनले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको छ । “ढुङ्गाको निकै माग आउने गरेको छ”, विश्वकर्माले भने, “कहिलेकाहीँ मागअनुसार उत्पादन गर्नै सकिँदैन ।” उनको आफ्नै पाखो बारीमा ढुङ्गाको खानी रहेको छ ।

उनको आधिकारिकरुपमा दर्ता भएको ताराखोलामा एक मात्र ढुङ्गा उद्योग हो । विश्वकर्माले ढुङ्गाको एक वर्गफिटको रु चार तथा निकासी कर गाउँपालिकालाई तिर्दै आएका छन् भने नेपाल सरकारलाई भ्याट तथा खानी तथा भूगर्भ विभागलाई वर्षको रु एक लाख ५० हजार रकम तिर्दै आएको बताउँछन् ।

सबै खर्च कटाएर कूल आम्दानीको १२ प्रतिशत नाफा हुने विश्वकर्माको भनाइ छ । विश्वकर्माले उद्योगमा स्काभेटर, ढुङ्गा निकाल्ने मेशिन तथा विद्युतीय सामग्रीको सहायताले ढुङ्गा निकाल्दै आएका छन्। ताराखोलाका स्थानीय खानी तथा उद्योगलाई केन्द्रीय विद्युत् आवश्यक भए पनि स्थानीय उत्पादित विद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने विश्वकर्माको गुनासो छ ।

ससाना ढुङ्गा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको घर्तीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस