डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका कर्मचारीहरू आन्दोलमा उत्रिएका छन् । आफ्नो कामकाज ठप्प पारी कर्मचारी आन्दोलमा उत्रिएपछि नगरपालिकामा आउने सेवा ग्राहीहरु काम नहुँदा मर्कामा परेका छन् ।
सरकारले साबिकको स्थानीय निकायका कर्मचारी र निजामती कर्मचारीहरुबीचा ठुलो विभेद गरेको भन्दै कर्मचारी आन्दोलमा उत्रिएको आन्दोलनका अगुवा नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द जोशीले बताए ।
‘सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश, २०७५ले हामी साबिकको स्थानीय निकायका कर्मचारीलाई विभेद गरेकाले हामी आन्दोलनमा उत्रिएका हौँ’, उनले भने, ‘हामीलाई सशक्त आन्दोलनमा उत्रिन बाध्य नपारियोस् ।’ आन्दोलमा उत्रिएका कर्मचारीहरूले सम्मानजनक सरुवा हुनुपर्ने, समायोजनमा विभेद गर्न नहुने र आफूहरूको वृद्धि विकास हुनु पर्ने माग राखेका छन् ।
कर्मचारीहरूले यही पुस ११ गतेसम्म आफ्नो आन्दोलन जारी रहने र त्यसपछि पनि सरकारले आफ्ना माग पुरा नगरे नयाँ ढङ्गबाट आन्दोलनको सुरुवात गर्ने बताएका छन् ।
कर्मचारीहरू आन्दोलमा उत्रिएर कामकाज ठप्प पारेपछि सेवाग्राहीहरु मर्कामा परेको दिपायलका स्थानीय भरत विकले बताए । ‘नागरिकताको लागि सिफारिस लिन नगरपालिका गएको थिए सबै कर्मचारी आन्दोलनमा रहेछन् कामै नभएर रित्तो हात फर्किए’, उनले भने, ‘फोटकमा खर्च मात्रै भयो ।’
त्यस्तै दिपायल सिलगढी नगरपालिकाका सबै वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो कामकाज ठप्प पारेका छन् । उता दिपायल सिलगढी नगरपालिकाका कार्यकारी प्रमुख भोजराज शर्माले कर्मचारीको आन्दोलनका कारण सेवा ग्राहीको कामकाज ठप्प भएको बताए । उनले भने, ‘कर्मचारी आन्दोलमा उत्रिएका छन्, काम काज ठप्प छ, हामीले केही गर्न सक्ने अवस्था छैन ।







