हक्कीमा नेपाललाई कास्य पदक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हक्कीमा नेपाललाई कास्य पदक


८ पुस २०७५, आइतबार


काठमाडौं । नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।

शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।

शृङ्खलामा नेपालसहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शनिबार अफगानिस्तानलाई पराजित गर्दै कास्य जित्न सफल भएको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो ।

नेपालका तर्फबाट सागर आचार्यले दुई गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर ’म्यान अफ दी म्याच’ समेत घोषित भए । समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ६–१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग समेत समान गोल स्कोरले पराजित भएको थियो ।

अन्तिम खेलमा भने अफगानिस्तानलाई पराजित गर्दै नेपालले कास्य जित्न सफल भयो । प्रतियोगितामा शीर्ष स्थानमा रहँदै उज्वेकिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस