‘प्रदेश सभामा कर्मचारी काम गर्न इच्छुक नरहेको’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘प्रदेश सभामा कर्मचारी काम गर्न इच्छुक नरहेको’


२९ मंसिर २०७५, शनिबार


चितवन । चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताए । उनले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिए । ‘अमेरिकामा अढाई सय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भने, ‘समस्याहरुसँग जुध्दै जाँदा परिपक्व हुन्छ ।’

कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरवन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेको बताए । उनीहरुले साझा सूची व्यवस्थित गर्न ढिला भएको पनि बताए । उनीहरुले संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुविधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेकोलगायतका अनुभव राखे ।

सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित अन्तरक्रिया र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने बताउँदै त्यसपछि प्रदेश सभालाई कानुन बनाउन सहज हुने विश्वास व्यक्त गरे । उनले सरकारले बिजनेस नदिएसम्म प्रदेश सभा कामविहीन हुने उल्लेख गर्दै तर प्रदेश सभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको बताए । उनले प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउँदै ती समस्यालाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गरिन् । ‘संसदीय अभ्यासालई प्रक्रियामा लैजान चुनौती छन्,’ उनले भनिन्, ‘संसदीय अभ्यासलाई उचाईमा पुर्‍याउन एउटा इँटाको काम गर्नेछ ।’

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको बताउँदै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधारसहित आन्तरिक व्यवस्थापनलगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो । संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा संघीय संसद (प्रतिनिधिसभा/राष्ट्रिय सभा) तथा प्रदेश सभाका पदाधिकारी एवं सचिवहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस