काठमाडौं । हार्ट अट्याकबाट मृत्यु भएका रुसी वैज्ञानिक डा.युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । ६७ वर्षको उमेरमा निधन भएको जनाइएको छ ।
क्रायोरसकी प्रवक्ता वेलेरियाका अनुसार, ‘युरीको हृदयाघातका कारण मृत्यु भएको थियो । छिमेकीहरुका अनुसार उनको शव घर बाहिर भेटिएको थियो । त्यतिबेला तापक्रम माइनस ७ डिग्री थियो । क्यानडामा बस्दै आएका उनको छोराले डा. युरीको दिमागलाई फ्रिजमा राख्न अनुमति दिएका थिए ।
डा. युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको माध्यमबाट मानिसको दिमागलाई खास रसायनमा राखेर फ्रिज गरिन्छ । यसलाई क्रायो–प्रिजर्वेशन भनिन्छ । वैज्ञानिकहरुका अनुसार यस्तो दिमागलाई दोस्रोपटक प्रयोग गर्न सकिन्छ ।
रुसको क्रायोरस कम्पनीले डा. युरीको दिमागको क्रायो प्रिजर्वेशन गरेको हो । यसलाई मस्कोको वेयरहाउसमा संरक्षण गरेर राखिएको छ ।
फ्रिज गरेर राखिएको दिमागलाई केही शताब्दीपछि पनि प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दावी छ । डा. युरीको दिमाग राखिएको वेयर हाउसमा अन्य ६६ जना व्यक्ति र ३२ घरपालुवा पशुको दिमाग पनि राखिएको छ । एजेन्सी







