लोक सेवा कहिले खुल्छ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा कहिले खुल्छ ?


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७५, मंगलबार


लोक सेवा

अधिकांश युवाहरूको प्रश्न हो लोक सेवा कहिले खुल्छ ? प्रशासन डटकमले दुई वर्ष अघिदेखि निरन्तररुपमा प्रकाशन गर्दै आएको लोक सेवा सम्बन्धी सामाग्रीका लाखौँ पाठकहरुरहेका छन् र केही समययता उनीहरूबाट बारम्बार आउने गरेका जिज्ञासालाई हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश कुमार थपलियासमक्ष राखेका छौँ ।

लाखौँ युवाहरूले प्रश्न गरिरहेका छन् लोक सेवा कहिले खुल्छ ?
लोक सेवा खुल्छ । मेरो बिचारमा बढीमा दुई महिना भित्र सबै सूचना निस्किई सक्छन् ।

कर्मचारी समायोजन अध्यादेशले संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवामा कर्मचारी समायोजन गर्ने व्यवस्था गरेको छ । कर्मचारीले रोजेको अवस्थाअनुसार तत् तत् तहमा कर्मचारीहरू व्यवस्थापन हुन्छन् । अहिले नै कुन सेवामा कति कर्मचारी कुन पदका रिक्त हुन्छन् भनेर अनुमान गर्न सकिँदैन । यो सबै कार्यको टुंगो ३५ दिनभित्र लागि सक्छ । ३५ दिन भित्रमा को-को, कति-कति, काँ-काँ जाने भन्ने आइसक्छ । र, रिक्त देखिन्छ । त्यसपछि नव प्रतिभाहरूलाई निजामती सेवामा प्रवेश गराउनको निम्ति लोक सेवा आयोगलाई अनुरोध गरी संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सेवामा तत् तत् सेवामै समायोजन हुने गरी विज्ञापन हुन्छ । र, शाखा अधिकृतसम्मको पदमा गत विगतका वर्षको भन्दा दोब्बर सङ्ख्यामा विज्ञापन हुन्छ ।

बढीमा दुई महिनाभित्रमा शाखा अधिकृतसम्मका सबै सेवाका सबै पदको विज्ञापन भइसक्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ ।

यस अघि पनि दुई महिना सारिसकेको छ, पुनः दुई महिना ढिला, त्यसपछि पनि कुनै निश्चित छैन, युवाहरूलाई त पीडा हुने भो नि हैन र ?
यस्तो व्यवस्था नेपालमा पहिलोचोटी भएको हो । ०४६ सालको परिवर्तन पछि तीन वर्षसम्म लोक सेवा आयोग खुलेन, पर्याप्त मात्रामा । त्यतिखेर यति ठुलो परिवर्तन भएको होइन, एकात्मक प्रणाली थियो, एकात्मक नै रह्यो । ०६३ सालपछि पनि एक वर्ष लोक सेवा खुलेन। त्यतिखेरका उम्मेदवाहरुको पीडा हामीले पनि सम्झेका छौँ । २०४६/०४७ सालतिर त्यो पीडा हामीले पनि भोगेका थियौँ । त्यसैले हामीले त्यो नजिकबाट महसुस गरेका छौँ । हामी उनीहरूलाई पीडा हुन दिँदैनौँ ।

भनेपछि पुनः लोक सेवालाई अनुरोध गरिने भयो हैन त ?
अबको अनुरोध विशेष हुन सक्छ । खासगरी नियमित प्रक्रियाभन्दा बाहिरको विज्ञापनका लागि विशेष समय दिएर विज्ञापन गर्न अनुरोध गर्न सकिन्छ ।

केन्द्रीय तहका सेवाको हकमा त नियमित हुन्छ नै । समायोजन नहुने पदहरूको हकमा लोक सेवाको नियमित सेड्यूलमा सूचना प्रकाशन हुन्छ नै । समायोजन हुने निकायहरुको हकमा केही समय रोकिन सक्छ तर त्यसपछि ठूलो संख्यामा खुल्छ ।

केही समय ढिलाइ मात्र भएको हो । लोक सेवा ननिकाल्ने भन्ने कुनै सम्भावना नै छैन र अर्को विकल्प पनि हुँदैन । जसले मेहेनग गरिरहनु भएको छ यसलाई अझै निरन्तरता दिनुहोस् । लोक सेवाको विज्ञापन हुन्छ ।

र यो पनि, 

अध्यादेश ढाँट छल गर्न ल्याएको होइन, कार्यान्वयन गर्न ल्याएको हो

 

Tags :
प्रतिक्रिया दिनुहोस