काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार संघको चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले भने, -‘कसैको आलोचना गर्नकै लागिभन्दा तथ्यमा आधारित भएर समाजको सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् ।’
सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रण गरी मुलुकको आर्थिक समृद्धिका लागि पत्रकार लड्नुपर्ने दिन आएको उल्लेख गर्दै त्यसका लागि सहयोग गर्न सरकार सधैँ तयार छ भने ।
उनले देशमा ठूलाठूला आन्दोलनले मुलुकमा शान्ति आएको र शान्ति आएसँगै समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै अब नयाँ पुस्ताले पहिलेको जस्तो सास्ती खेप्न नपर्ने बताए । सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रताका लागि सरकारलाई गम्भीर बनिदिन आग्रह गरे ।
साधारणसभाले सीताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा इन्द्र बानियाँ, राजेश बर्मा र छविलाल बगाले, महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की, कोषाध्यक्षमा रोयल आचार्य र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रीना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणीन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन्







