नगरकोटबारे चार नगरको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नगरकोटबारे चार नगरको निर्णय


२१ मंसिर २०७५, शुक्रबार


बनेपा । पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् ।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने नगरपालिकाले दुवैतिरबाट करीब २०० मिटरको दूरीमा झण्डै दुई महीना अगाडिदेखि दोहोरो कर उठाउँदै आएका थिए । सो विषयले चर्को रुप लिइरहेको बेला दुवै जिल्लाको सिमानामा पर्ने चार नगरपालिका काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाले सयुक्त रूपमा चार बुँदे निर्णय गरेकोे मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जानकारी दिए ।

उनका अनुसार दुई जिल्लाबीचका चार नगरपालिकाले समेटेका सिमाना छुट्याउन नापी विभागमा अनुरोध गर्ने, नगरकोट एकीकृत नगर विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउने र त्यसका लागि मण्डनदेउपुर र चाँगुनारायण नगरपालिकाले खर्च व्यहोर्ने, नगरकोट पर्यटन क्षेत्र घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डलगायत सम्बन्धित निकायमा पहल गर्ने र भक्तपुरबाट नगरकोट जाने सडक ठेक्का लगाएको चार वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले काम नगरेकाले सडक विभागलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय भएको छ ।

मण्डनदेउपुर नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २२६ र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३३९ लिने गरेको थियो भने चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २०० र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३०० लिने गरेको थियो ।

उक्त नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । ‘मण्डनदेउपुरले पनि कर उठाउन थालेपछि करको विषयमा धेरै विवाद निस्केका कारण तत्कालको लागि नउठाउने निर्णय गरेका छौँ”, नगरप्रमुख मिश्रले भने ।

भौगोलिक हिसाबले अग्लो ठाउँ भएको र त्यहाँबाट हिमशृङ्खलाका अवलोकन गर्नाका साथै बिहानको सूर्योदय र वरिपरिको प्राकृतिक सुन्दरतामा रम्न  बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस