काठमाडौं । प्रहरीले निर्मला हत्या प्रकरणको अपराधी नजिक पुगेको दावी गरेको छ ।
कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावल पक्राउ परेसँगै प्रहरीले अपराधी नजिक पुगेको दावी गरेको हो । रावल मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार अनुसन्धान साघुँरिदैँ गएको जनाइएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बयान लिएका छन् । रावलसँग बयान लिने क्रम जारी रहेको र बयान लिने क्रममा उनले घटनामा आफ्नो संलग्नता रहेको संकेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने नभएको बताइएको छ । उनी लागुऔषध दुर्व्यसनी रहेको खुलेको छ ।
रावललाई यसअघि सीआईबीका डीएसपी अंगुर जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।
रावलको वयान अनुसार प्रहरीले दुई जनालाई कञ्चनपुरमा पक्रेर काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई काठमाडौं पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले ती दुई जनाको नाम लिएको प्रहरी स्रोतले जनाएको छ ।







