वंशजको परिभाषा के हो ? बाबुमात्र वा आमा पनि « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वंशजको परिभाषा के हो ? बाबुमात्र वा आमा पनि


१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिएका छन् । संशोधनकर्ता सांसद बिन्दा पाण्डेले नागरिकतामा वंशज विषयमा प्रष्ट हुनुपर्ने बताए । “वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुपर्‍यो ।”

नागरिकतासम्बन्धी नीति संविधानसँग बाझिएको हुनाले संशोधन गर्न जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

संशोधनकर्ता सांसद पवित्रा निरौला खरेलले वंशजको आधारमा नागरिकता दिने भनेर बाबुलाई प्राथमिकता दिने गरेको हुँदा आमालाई पनि त्यस्तो अधिकार दिने खालको कानून बनाउनुपर्ने बताए । सांसद मीना पाण्डेले वंशजका आधारमा नागरिकता दिँदा बाबुको पहिचान खुल्न नसकेको भन्ने शब्द हटाउनुपर्ने सुझाव दिए । सांसद यशोदा गुरुङ सुवेदीले नागरिकताबाट विभेदकारी नीति हटाउनुपर्ने र वंशजको आधार भनेपछि बाबु र आमा दुवै हुनुपर्ने धारणा राखे ।

समितिका सभापति शशि श्रेष्ठले दफाबार छलफल गरेर सो विधेयकलाई निष्कर्षमा पु¥याइने जानकारी दिए। तीन दिनदेखि सो समितिमा नागरिकता ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको छ । संशोधनका लागि ५५ सांसदले १०२ संशोधन हालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस