काठमाडौं । नेपाल विद्यार्थी सङ्घले काठमाडौं उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ ।
नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको शुुरुवात गरेको हो ।
नेविसङ्घका महामन्त्री कुुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ । धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
“हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,” उनले भने ।
अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार काठमाडौं उपत्यकाको वातावरण प्रदूषण अत्याधिक रहेकाले वातावरण प्रदूषण कम गर्न उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए।
काठमाडौं उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उनको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसङ्घले काठमाडौं महानगरपालिकामा आन्दोलन गर्नेसमेत जनाएको छ ।







