अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट


१२ मंसिर २०७५, बुधबार


हेटौँडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ ।

यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–९ को सानो टोड्के, वडा नं ८ को काँकडा, वडा नं ७ गर्लिङ र कैलाश गाउँपालिका–४ सर्सिङ र लिप्चेमा लगाइएका गाँजा खेती २८ बिघा १० कट्ठा र अफिम आठ बिघा नष्ट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन् ।

दोस्रो चरणको अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानमा २२१ बिघा चार कट्ठा गाँजा तथा १०७ बिघा जमीनमा लगाइएको यस्ता अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्लाको सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ ।

उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीको साथसाथै स्थानीय जनसमुदायमा लागुऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । उक्त कारवाहीको क्षेत्रमा गाँजाखेतीको विकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारी स्तरबाट आवश्यक सहयोगका कार्यक्रम ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस