अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ‘पार्किङ–वे’ निर्माण गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ‘पार्किङ–वे’ निर्माण गरिँदै


३० कार्तिक २०७५, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ‘पार्किङ–वे’ निर्माण गरिने भएको छ ।

विमानस्थलको उत्तर–पूर्व र दक्षिण–पश्चिम क्षेत्रमा पाँच/पाँच विमान अट्ने दुई ‘पार्किङ–वे’ निर्माण गरिन लागिएको हो । अबको पाँच महिनामा निर्माण सकिने विमानस्थलले जनाएको छ । विमानस्थलमा अहिले जहाज पार्किङको समस्या छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ–वे’ र ‘पार्किङ–वे’ निर्माण गरिन लागिएको हो ।

निर्माणाधीनमध्ये उत्तर–पूर्वतर्फको ‘रिमोट पार्किङ–वे’ निर्माणमा ४७ करोड र दक्षिण–पश्चिमतर्फको ‘पार्किङ– वे’ निर्माणमा ५९ करोड खर्च हुनेछ । विमानस्थलका अनुसार उत्तर–पूर्वतर्फ दुई वाइड बडी जहाज र तीन साना (एटिआर) जहाज तथा दक्षिण–पश्चिमतर्फ दुई वाइड बडी र तीन एटिआर जहाज राख्न सकिनेछ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार रिमोट पार्किङ–वे आगामी फागुनमा र पार्किङ–वे वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ । पार्किङ–वे निर्माणपछि विमानस्थलमा चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

कहाल विमानस्थलमा  अन्तर्राष्ट्रिय विमान पार्किङ गर्ने क्षमता छ, जहाँ तीन वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ–वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतंककारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ ।

विमानस्थलबाट तीन नेपालीसहित ३१ अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० विमान पार्किङ गर्न सकिन्छ । अहिले हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्छन् ।

प्रतिक्रिया दिनुहोस