पूर्वाधार विकासका लागि खनाल र नेम्वाङका ३७ योजना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वाधार विकासका लागि खनाल र नेम्वाङका ३७ योजना


२७ कार्तिक २०७५, मंगलबार


मङ्गलबारे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार/चार करोड विनियोजन गरेका छन् । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन् ।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।

यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख, देउमाई नगरपालिकाका लागि ८३ लाख, माई नगरपालिकामा ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने ६५ लाखका दरले रकम विनियोजन गगरेका हुन् ।

नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए।

सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि ५० लाख छुट्याएका छन् ।

नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख छुट्याएका हुन् । सङ्घीय सांसदले चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उनीहरूले बजेट तथा योजना छनोट गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस