काठमाडौं । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । खरनालाई पापको क्षय हुने दिन भनिएको छ ।
आजको दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।
बेलुकीपख चन्द्र दर्शन गरेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ ।
नैवेद्य चढाउने बेला जति अर्घदान गरिन्छ, त्यति नै स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि विभिन्न परिकारहरु राखिन्छन् ।
केराको पातमा नैवेद्य राखि छठीमातालाई चढाइन्छ । नैवेद्य उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।







