फिदिम । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आज विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित राजधानी काठमाडौं र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज पाँचथरको फिदिममा विशेष कार्यक्रम आयोजना गरिएको छ । यहाँ फाल्गुनन्दका हालै निर्मित दुई शालिक अनावरण गरिएको तथा धार्मिक प्रवचन आयोजना गरिएको छ । किराँत समुदायका आधुनिक धर्मगुरु आत्मानन्द लिङ्देनले फिदिममा आयोजित कार्यक्रममा श्रद्धालुमा धार्मिक प्रवचन दिएकोे आयोजक किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिए। किराँत धर्मावलम्बीले फाल्गुनन्दको जन्मजयन्तीमा उनले देखाएको मार्गका विषयमा चर्चा परिचर्चा गर्नाका साथै मौलिक धर्म र संस्कृतिको रक्षाका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
प्रमुख कार्य
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किरात धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गरेका थिए । उनको सर्वाधिक महत्वपूर्ण कार्य सत्यधर्म मुचुल्का तयार पार्नु हो । लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान् क्षेत्रका शासक, विद्वान् र धार्मिक/सामाजिक अगुवालाई वि.सं. १९८८ वैशाख १० गते पाँचथरको फिदिमस्थित सुम्हात्लुङमा भेला गराईसत्यधर्म मुचुल्का खडा भएको थियो । सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिन नहुने, भगवान्को पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक/साँस्कृतिक पक्ष समेटिएका छन् ।
मुचुल्का र समाज सुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसका रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाको भनाइ छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवान्को सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ एवं मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।
फाल्गुनन्दको जीवनी
सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो । जगनबाज र हंसमती लिङ्देनका साहिँला छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिएका उनले कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्धि कमाए ।
किँरात धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उनको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो । इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उनलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट समेत प्रकाशित छ ।