आज भाइटीका, शुभसाइत ११ बजेर ५५ मिनेटमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज भाइटीका, शुभसाइत ११ बजेर ५५ मिनेटमा


प्रशासन विशेष ब्युरो

२३ कार्तिक २०७५, शुक्रबार


भाइटीका

काठमाडौं । हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व यमपञ्चक(तिहार)को अन्तिम दिन आज दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीका लगाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयामा यो पर्व मनाइन्छ ।

यो वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई सुख, समृद्धि, आरोग्य तथा दीर्घायूको कामना गरी भाइटीका लगाउने गर्छन् । टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मिठाई, फलफूल, ओखर, कटुस, मसलालगायत खानेकुरा दिन्छन् भने दाजुभाइले आफ्नो गक्षअनुसार दक्षिणा दिन्छन् ।

भाइटीकाको दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मान्यता छ ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउँछन् । उक्त मन्दिर भाइटीकाको दिन मात्रै खुला गरिन्छ ।

भाइटीकाको पौराणिक कथा
परापूर्वकालमा यमलोकका राजा यमराज बहीनी यमुनालाई भेट्न पृथ्वीलोक आएका थिए । त्यो बेला यमपञ्चक परेको थियो । यमराज यमपञ्चकभर यमुनाकहाँ बसे । र, यमपञ्चकको पाँचौ दिन यमुनाले दाजुको पूजा गरी उपहार दिइन् र दाजुसँग आशिर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको लगाउने चलन सुरु भएको मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस