तरलताको अभाव छैन : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तरलताको अभाव छैन : अर्थमन्त्री खतिवडा


१६ कार्तिक २०७५, शुक्रबार


विराटनगर । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरलताको अभाव नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पारे।

मन्त्री खतिवडाले आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले समग्र मुलुकको आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहले पनि खर्च गर्न क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खतिवडाले स्थानीय निकायको आ–आफ्नो अधिकार भएको बताउँदै नेपालीको कर तिर्ने क्षमताभन्दा बढी कर नलगाइएको धारणा व्यक्त गरे। स्थानीय तहमा करको समस्या अहिले नरहेको भन्दै उनले वित्तीय सङ्घीयता लागू भएको चार महीना मात्र भएकाले केही बुझाइको कारणले मात्र करको समस्या देखिएको जानकारी दिए ।

उनले प्रदेश सरकारको आफनै संरचना बन्ने क्रममा रहेकाले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई संरचना हस्तान्तरण हुँदै जाने प्रष्ट पारे । स्थानीय तहमा कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार्दै मन्त्री खतिवडाले सङ्घीय निजामती कानून आउनासाथ दरबन्दीअनुसार एक/दुई महीनाभित्र कर्मचारी समायोजन हुनेछ भने।

मन्त्री खतिवडाले मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धि भएको जानकारी दिँदै शेयरको मूल्य घटनुमा माग र आपूर्तिको कारण रहेको बताए । उनले वित्तीय आयोग गठन नभए पनि यसले गर्ने कार्य सरकारअन्तर्गतका विभिन्न सचिवालयमार्फत भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस