काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्ने बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औँ संघीय बैठकको उद्घाटनमा बोल्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।
उनले देशमा महिला हिंसा, वलात्कार, भ्रष्टाचार बढेको भन्दै सरकारको पनि आलोचना गरेका छन् । सरकार आठ महिनामै असफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । उनले सरकारले बुढिगण्डकी आयोजना लगायतका आयोजनाहरुमा गलत निर्णय गरेको बताए ।
नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्याइने कार्यलाई प्राथमिकता दिइने समेत उनले बताए ।
नयाँ शक्तिको १५ औं संघीय वैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । पहिलो दिन (बुधबार) संयोजक भट्टराईले राजनीतिक प्रतिवेदलन प्रस्तुत गर्नेछन् । त्यसको समिक्षा सहित बिहिबार बैठक सकिने जनाएका छन् ।







