हेल्लो सामान्य प्रशासन ! कर्मचारीलाई कति दुःख दिएको ? « प्रशासन

हेल्लो सामान्य प्रशासन ! कर्मचारीलाई कति दुःख दिएको ?


प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०९:४५

कर्मचारीबाट सेवाग्राहीले दुःख पाउने घटना त नौलो होइन । तर, कर्मचारीबाट कर्मचारीले नै हैरानी खेप्नुपरेको कुरा तिनै कर्मचारीबाहेक कमैलाई थाहा होला ! त्यसैको एक उदाहरण हो- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।
अहिले यही मन्त्रालयका कर्मचारीको व्यवहारबाट सरुवाबारे बुझ्न आउने कर्मचारी र तिनका आफन्तले दुःख पाइरहेका छन् । तिनैमध्ये अधिकांशको प्रश्न छ- यो सामान्य प्रशासनले दिनु दुःख दियो !

ठुलाले सानालाई अर्थात् एक तह माथिल्लोले मुनिकालाई हेप्ने तथा पावरफुल शाखामा बसेकाले अन्य शाखाका माथिल्लै तहकालाई समेत नटेर्ने पनि कर्मचारी वृत्तमा खासै नौलो होइन । तर, सरुवाको सिजनमा भने देशभरकै हजारौँ कर्मचारीले नराम्ररी मन दुखाउनुपर्छ ।

संघीयता कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनको मुख्य जिम्मेवारी बोकेको मन्त्रालय भएकाले पनि हरेक कर्मचारी यही ठोक्किनुपर्ने अवस्थाले दुःख पाउनेहरूको संख्या अझ बढेको छ । देशभरका धेरै कार्यालयहरू गाभिएपछि त्यहाँका कर्मचारी को-कहाँ कसरी काम गर्ने भन्ने अन्यौलताबारे बुझ्न आउनेको छुट्टै पिडा छ त्यो पछि कुरा गरौँला तर आज सरुवाका बेला खेप्नुपर्ने सास्तीबारे ।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले सरुवाबारे बुझ्न आएका अरू कर्मचारीहरूलाई दुःख दिइरहेको कुरा सुनेपछि हामीले यस विषयमा खोजी गरेका छौँ । करिब एक हप्ताको नियमित निगरानीपछि मन्त्रालयका कर्मचारीले काम विशेषले आउने कर्मचारीलाई दुःख दिइरहेको देखियो ।

यस क्रममा कर्मचारीले सबैभन्दा बढी पीडा संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाबाट पाइरहेको देखियो । तत्काल सुधारका लागि प्रयास नहुने हो भने यो बेथितिले मन्त्रालय मात्रै होइन, सिङ्गो सरकारप्रति नै कर्मचारीको असन्तुष्टि बढ्नेछ ।

मन्त्रालयका कर्मचारीले सामान्य सूचना नदिनु र व्यवहार राम्रो नभएपछि कार्यकक्षमा मुखै छोड्ने गरेको त सामान्य हो ।

सरुवा निर्णय भएको महिनौँ भइसकेको छ र यो क्रम चलिरहन्छ । तर, सरुवाबारे समयमा र सहज कर्मचारीले सायदै पाउने गरेका छन् । मन्त्रालयले सरुवाको निर्णय वेबसाइटमा नराखेर गुमराह गर्न खोजेको कर्मचारीको आरोप छ ।

आफ्नो सरुवाबारे बुझ्न तीन दिनदेखि मन्त्रालयमा धाए पनि अझै जानकारी नपाएको सुर्खेतमा कार्यरत एक कर्मचारीले गुनासो पोखे । ‘जिल्लाबाट टेलिफोन गर्दा उठ्दैन । मन्त्रालयमा पनि कर्मचारी भेटिँदैनन् । अब के गरौँ ?’ उनले दुःख सुनाए ।

उनी मात्रै होइन, सप्तरीका अर्का एक प्राविधिक कर्मचारीको पीडा पनि कम्ता थिएन । ती पनि आफ्नो सरुवा भए/नभएकोबारे बुझ्न आएका थिए । ‘कर्मचारी एकै छिन कार्यकक्षमा भेटिन्छन्, त्यति बेला भिडभाडले केही सोध्नसमेत सकिँदैन, त्यसपछि बाहिर निस्कन्छन्, र हत्तपत्त फर्कँदैनन्, अनि कसरी सोध्ने ?’ ती कर्मचारीले प्रतिप्रश्न गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुर्खेतमा कार्यरत आफ्ना भाइ (जो अहिले फाजिलमा परेका छन्)को सरुवाबारे बुझ्न मन्त्रालय आएका एक व्यक्ति रन्थिनिँदै थिए । उनी राम्ररी बोल्न समेत सकिरहेका थिएनन् । ‘शाखाका सहायक कर्मचारीले थाहा छैन भन्छन् । सम्बन्धित कर्मचारी पनि भेटिँदैनन्,’ उनले दुखेसो पोखे, ‘मन्त्रालयमै पुग्दा पनि सामान्य जानकारी नपाउने, अब कहाँबाट लिने ?’

यतिकैमा एक कर्मचारी शाखाप्रमुखको कोठाबाट निस्किए। भने, ‘उतै खानेपानीमा बोधार्थ जान्छ । त्यसैले यहाँ बोल्नुको अर्थ छैन ।’ सरुवाबारे बुझ्न आएकाहरू अक्क न बक्क भए ।

घण्टौं रन्थनिएपछि जवाफ पाए यस्तो !

दैनिक सयौँ व्यक्तिहरू सरुवाबारे बुझ्न आउने गरेको शाखाकै एक कर्मचारी बताउँछन् । ती कर्मचारीका अनुसार केहीले टेलिफोन पनि गर्छन् । तर, मन्त्रालयले न फोनको रेस्पोन्स गर्छ न त सोध्न आएका आफन्तहरूलाई नै जानकारी दिने गरेको छ ।

सरुवाबारे बुझ्न आउने कर्मचारीप्रति बेवास्ता गरेको गुनासो बढ्दै गएपछि यसको यथार्थ बुझ्न शाखाका उपसचिव ऋषिराज आचार्यसँग भेट्ने योजना बनाइयो । दुई दिनसम्म कार्यकक्षमा उनी भेटिएनन् । कार्यकक्ष बाहिर बसेका दुई कर्मचारीसँग बुझ्दा बाहिर भन्ने जवाफ आयो ।

उपसचिव आचार्य तेस्रो दिन त भेटिए । तर, कार्यकक्षमा होइन, कोरिडोरमा । म आफू एक सेवाग्राही तथा जिल्लाबाट आएको कर्मचारी भए जसरी प्रस्तुत भएँ । मैले उनलाई सरुवाबारे कुरा राखेँ । तर, उनी मेरो कुरा सुन्ने मुडमा थिएनन् ।

त्यसैले पनि उनी भीड छिचोल्दै अर्को ढोकाबाट भित्र छिरे, जहाँ उभिनसमेत मुस्किल थियो । त्यसपछि केही मिनेट ढोकामै कुरियो, नआएपछि माथिल्लो तलातर्फ लागेँ ।

केही घण्टापछि उनलाई हतार हतार कतै जाँदै गरेको देखेँ । मैले अलि ठुलो स्वरले भने, ‘ए सर ! जानकारीसमेत दिन किन यस्तो ?’

उनले जवाफ फर्काएँ, ‘तपाईँ कहाँबाट कहाँ जानुपर्ने ?’ मैले भने, ‘एक दुर्गमका आफन्तले सरुवाका लागि निवेदन दिएका थिए । उनको सरुवा भए/नभएको बुझ्न आएको ।’

उनले यसबारे बुझ्न सम्बन्धित कर्मचारी नै आउनुपर्ने जवाफ दिए । त्यति भनेपछि उनी हिँडे ।

‘त्यसो भए बाजुराको कर्मचारीले आफ्नो सरुवाको जानकारी लिन सिंहदरवार पुग्नुपर्ने भयो होइन त ?’ मैले लगत्तै प्रश्न गरेँ । उनले सम्बन्धित कर्मचारीलाई मात्रै सरुवाबारे जानकारी दिने अडान दोहोर्‍याए । हाम्रो वार्ता सुनेर वरपर रहेको ५/७ जना कर्मचारी हेरेको हेर्‍यै भए । उनीहरू पनि केही सोध्न खोज्दै थिए तर आचार्य टाप कसिसकेका थिए ।

मनमा प्रश्न उठ्यो- सिंहदरवार भित्रै उपसचिव तहको कर्मचारीबाट सेवाग्राही तथा आफ्नै कर्मचारीमाथि किन यस्तो व्यवहार ! यिनको व्यवहारबारे थप अरू बुझ्ने हिसाबले तीन/चार दिन मन्त्रालयमा पुगेर उनका गतिविधि नियालियो । तर, केही फरक थिएन । बरु सरुवाको लिस्ट सार्वजनिक नगरी चलखेल गर्ने गरेको, पावरफुल कर्मचारीको भइसकेको सरुवा पनि भित्रभित्रै अदलबदल हुने गरेको तथा आर्थिकसमेत लेनदेन हुने गरेको विश्वस्त स्रोतबाट जानकारी हुन आएको छ । यस विषयमा थप प्रमाणहरू जुट्ने क्रम जारी छन् ।

विविध जानकारीका लागि आउने कर्मचारीलाई गोप्यमा हुनुहुन्छ भन्ने रेडिमेट जवाफबाट आजित केही कर्मचारीको प्रशासन डटकममा निरन्तर फोन आउन थालेपछि पुनः यसबारे बुझ्न मन्त्रालय पुगियो ।

आइतबार पनि उनको कार्यकक्ष बाहिर तथा भित्र कर्मचारीहरूको भीड लागेको थियो । त्यस दिन तीन पटक मन्त्रालय पस्दा पनि न उनी भेटिए, न त गोप्य शाखामा बस्ने कर्मचारी नै । प्रशासन शाखाको ढोकामा झुञ्ड्याएको नेमप्लेट अनुसार न त उपसचिव ऋषिराज आचार्य नै थिए न त शाखा अधिकृत दशरथराम ओड नै । उनको खाली कुर्सीसहित उनलाई कुरेर बसेका आधा दर्जन कर्मचारीको फोटो खिचेर आइयो । भित्र बस्ने ठाउँ नहुँदा आधा दर्जन भन्दा बढी कर्मचारी उनलाई कुरेर ढोकामै उभिरहेका थिए ।

जहिल्यै भिडभाड हुने तर कहिल्यै नभेटिने कर्मचारीबारे बुझ्नै पर्‍यो भनेर शाखाका कर्मचारी खोज्न थालियो । यस क्रममा गोप्य लेखिएको एउटा शाखा थियो, जहाँ जहिल्यै चुकुल लगाइएको हुन्छ । खै कर्मचारी भनेर सोध्दा गोप्यमा भन्ने उत्तर दिने गरेको गुनासो पनि हामी कहाँ आएकोले त्यो गोप्यमा बुझ्न भनेर ढोका ढकढक्याइयो । निकै बेर ढकढक्याएपछि एक जना कर्मचारीले ढोका खोले । भने, ‘यो गोप्य शाखा हो ।’

‘मैले पनि लेखेको पढेँ । तर, यहाँ गोप्य हुने के काम हो । त्यो काम गर्ने कर्मचारी खोइ ?’ मैले प्रश्न तेस्र्याए । त्यसपछि ती कर्मचारी हेरेको हेर्‍यै भए ।

स्मरण रहोस्, उपसचिव आचार्य तिनै कर्मचारी हुन् जसलाई केही महिनाअघि एक जना कर्मचारीले उनीमाथिको आक्रोश कार्यकक्षमै गमला फोडेर पोखेका थिए ।

उपसचिव आचार्यपछि सबैभन्दा बढी गुनासो सुनिएका दोस्रो नम्बरका कर्मचारी हुन् ओड । दसै लगत्तैका तीन/चार दिनसम्म बिदामा रहेका ओड शुक्रवारदेखि कार्यालयमा आएको भनिएपनि कार्यकक्षमा भने भेटिएनन् । उनको खाली कार्यकक्षको फोटो लिएर बाहिरियो । कार्यालय समयमा अधिकांश समय कार्यकक्षमा नभेटिएपछि उनलाई फोन गरियो तर उठेन । त्यसपछि दोस्रो दिन सम्पर्क भयो । र, उनलाई सरुवाको लिस्ट वेवसाईडमा छ कि भनेर प्रश्न गरेँ उनले छैन भने । किन ? भनेँ -त्यो कुरा हाकिमलाई सोध्नुस्, -उनको उत्तर थियो ।

यससँगै हामीले मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीसँग केही प्रश्न सोधेका थियौँ ।

सरुवा गरिसकेपछि नामावली गोप्य राख्ने भन्ने कुनै व्यवस्था छ ?
छैन । सरुवाको निर्णय भईसकेपछि गोप्य राखिरहनु पर्दैन ।

अनि कोही कर्मचारी कहाँ सरुवा भएको छ भन्ने बुझ्नका लागि सम्बन्धित कर्मचारी नै मन्त्रालयमा आउनु पर्छ भन्ने पनि व्यवस्था छ हो ?
त्यस्तो कुनै व्यवस्था छैन । वेब साइटमै राख्नुपर्छ ।

तपाईँका एक जना उपसचिवले त गोप्य हुन्छ भन्नुहुन्छ त ?
निर्णय भई सकेको कुरा गोप्य राख्नै पर्दैन । निर्णय भएका कुराहरू वेब साइटमा राखी दिने हो भने कतिपय कुराहरू कसैले कसैलाई सोधी रहन नै पर्दैन । सबैलाई सहज हुन्छ ।

यस्तो कहिलेसम्म ? यसको जवाफ कसले दिन्छ ? सामान्य प्रशासन मन्त्रालयका सचिव, मन्त्री, मुख्यसचिव या यो यो पनि प्रधानमन्त्रीले नै दिनुपर्ने हो ? सिंहदरवारभित्रको कर्मचारी हुने बित्तिकै अरू सबै रैती सम्झने अनि एक तह माथि भई अरू कर्मचारीसँग व्यवहार गर्दा शासक ठान्ने प्रवृत्तिले कसरी सेवा प्रवाहमा सुधार र सुशासन कायम होला ? जबसम्म शासकीय मानसिकताको भूत सवार आफूलाई शासक ठान्ने कर्मचारीको व्यवहार सुधारिँदैन, तबसम्म हाम्रा कुनै पनि नारा पूरा हुन सक्दैनन् ।

उसै त निलो कोट भन्ने बित्तिकै नाक खुम्च्याउनुपर्ने अवस्था छ, त्यसैमाथि यस्ता प्रवृत्तिका कर्मचारीलाई त्यस्तै जिम्मेवारी सुम्पदा त्यसबाट स्वयं कर्मचारी र आम सेवाग्राहीमा कस्तो सन्देश दिन खोजेको हो ? सरोकारवालाको बेलैमा ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस