कर्मचारी समायोजन अध्यादेशबारे ध्यानाकर्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजन अध्यादेशबारे ध्यानाकर्षण


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । निजामती सेवाअन्तर्गत प्राविधिक सेवातर्फका कर्मचारीले कर्मचारी समायोजन गर्न बनेको अध्यादेशबारे सरकारलाई ध्यानाकर्षण बुझाएका छन् ।

नेपाल पाराभेटेरिनरी एन्ड लाइफ स्टक एसोसियसन, डिप्लोमा इन्जिनियर्स एसोसियसन नेपाल, नेपाल फोरेस्ट टेक्निसियन एसोसियसन, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन पशुपन्छी विभागीय समिति, नेपाल कृषि प्राविधिक एसोसियसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव र सामान्य प्रशासन सचिवलाई ध्यानाकर्षण बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा अध्यादेशमार्फत् निजामती सेवामा कार्यरत रहेका जनशक्तिहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा सेवा अवधि र शैक्षिक योग्यताको आधारमा तह मिलान गर्ने व्यवस्थाले माथिल्लो शैक्षिक योग्यता नभएको वा विभिन्न कारणले अध्ययन गर्न नसकेको तर अहोरात्र सेवा प्रवाह गरिरहेका कर्मचारीहरूको वृद्धि विकासमा असर पर्ने भएकोले स्वतः एक श्रेणी वृद्धि गरी तह मिलान हुने व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, निजामती सेवा ऐनले गरेको बढुवा व्यवस्था अनुसार वा हाल सेवा प्रवेश गरिसकेकाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यतालाई नै एक श्रेणी माथिल्लो पदमा बढुवाको लागि योग्य हुने किसिमले एक श्रेणी बढुवा हुने र सोही अनुसार तह हिलान हुने प्रावधान राखिनुपर्ने र प्राविधिक सेवाअन्तर्गत निजामती सेवामा कार्यरत प्राविधिक कर्मचारीहरूको हकमा एउटै सेवाभित्रको शैक्षिक योग्यता मिल्ने समूहमा समायोजन हुने व्यवस्था भएमा निजको बढुवाको बाटो खुल्ने भएकाले उक्त प्रावधान राखिनुपर्ने माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस