ऐतिहासिक देवी नाच ३७ वर्षपछि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ऐतिहासिक देवी नाच ३७ वर्षपछि


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्ष पछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ ।

विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौ शताब्दीमा राजा मानदेवको पालादेखि वि.सं. २०३८ सम्म प्रदर्शन गरिएको नाच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको थियो । वि.सं. २०३८ मा यो नाच देखाउन कलाकारका रुपमा सक्रिय भएका ७० वर्षीय ज्ञानबहादुर श्रेष्ठले युवा पुस्तालाई सिकाएपछि यसवर्ष नाच पुनःस्थापना गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जनाए ।

यो नाच फेरि कात्तिक १७ गते शनिबार कान्तिभैरव मन्दिर परिसरमा देखाउने तयारी भइरहेको छ । नाच पुनःस्थापना गर्न युवा पुस्ता पनि सक्रिय भई लागेका छन् । दशैँका अवसरमा २५ वर्ष अघिसम्म भक्तपुरको नवदुर्गा नाचलाई गोकर्ण देशेमा ल्याइन्थ्यो । २५ वर्ष अघिदेखि टुटेको यो परम्परा पनि पुनःस्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। यो नाचमा विभिन्न देवीको स्वरुप देखाईन्छ ।

गोकर्ण देशे गोकर्णेश्वर क्षेत्रको पुरानो बस्ती हो । यो बस्ती राजा मानदेवले बसालेको स्थानीय बुढापाकाको भनाइ छ । गोकर्णेश्वर महादेव मन्दिरको पूर्व एवं गोकर्ण जङ्गलको उत्तर–पश्चिम भेगमा यो बस्ती रहेको छ । बस्तीमा नेवारी समुदायको बसोवास छ । रासस

प्रतिक्रिया दिनुहोस