तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण कुलुङलाई « प्रशासन
prasaLogo
८ कार्तिक २०७५, बिहीबार

तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण कुलुङलाई


प्रकाशित मिति : 25 October, 2018 2:52 pm

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण कुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे ।

मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनेटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनेटमा पुरा गरे । शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १५ र १० हजार पुरस्कार पाएका छन् । यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भएको भेट्रान्स तर्फ गंगालाल तामाङ्गले पहिलो स्थान हात पारे । उनले ४२ कि.मि.को दूरी ५ घन्टा २६.५० मिनेटमा पुरा गरे । भिम बहादुर गुरुङ्ग ५ घन्टा ५०.४७ मिनेटका साथ दोश्रो र दावा जाङमु शेर्पा ६ घन्टा ४५ मिनटका साथ तेश्रो भए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार प्राप्त गरे ।

म्याराथनको रुट हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भइ २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता जनाएका थिए । छात्र र छात्रा विच भएको ५ कि.मि.को दौडमा छात्र तर्फ सागर श्रेष्ठले बाजी मारे । उनले २४.११ मिनटनमा दूरी पुरा गरे । २४.४९ मिनटका साथ दावा दोर्जे ह्योल्मो दोश्रो र २८.५३ मिनटका साथ प्रविन बोहरा तेश्रो भए । छात्रा तर्फ निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनटका साथ पहिलो स्थान हात पारिन् । दोश्रो स्थानमा रहेकी श्रेशान सिल्पकारले ३७.४४ र तेश्रो स्थानमा रहेकी प्रकृती सुवालले ३८.१७ मिनटका साथ दूरी पुरा गरे । उत्कृष्ट शिर्ष तिनले नगद ५ हजार, ३ हजार र १ हजार प्राप्त गरे ।

प्रतियोगिताको ५ कि.मि. खुला तर्फको प्रतिस्पर्धामा पुरुष तर्फ पेम्बा टासी ह्योल्मोले २५.०७ मिनटका साथ पहिलो भए । यस्तै दावा लामा ३१.२६ र निनो शेर्पा ३२.२० मिनटका साथ दोश्रो र तेश्रो भए । महिला तर्फ एकल प्रतिस्पर्धा गरेकी रेखा बिष्टले २७.५० मिनटमा दूरी पुरा गरिन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।

म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि १० लाख बजेट छुट्याइएको जानकारी दिए ।

स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको छ । लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस