धार्मिकस्थलमा सौर्य ऊर्जा जडान  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धार्मिकस्थलमा सौर्य ऊर्जा जडान 


८ कार्तिक २०७५, बिहिबार


बलेवा । बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो ।

गल्कोट नगरपालिका–७ मा रहेका धार्मिकस्थललाई अँध्यारोमुक्त बनाउनका लागि घुम्टे युवा परिवारले सहयोग गरेको संस्थाका सल्लाहकार टीकाबहादुर थापाले बताए। रोजगारीको सिलसिलामा जापानमा रहेका गल्कोटे युवाले आफ्नो मासिक पारिश्रमिकको केही अंश जोगाएर धार्मिकस्थलमा सौर्य ऊर्जा जडानका लागि सहयोग गरेका थिए । सामाजिक कामको लागि स्थापना भएको युवा परिवारमार्फत जापानमा रहेका युवाले विभिन्न शीर्षकमा सहयोग गर्दै आएका छन् ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा समेत सौर्य ऊर्जा जडान गरेको छ । जापान शाखाले पठाएको रु एक लाख २५ हजार खर्चेर चार धार्मिकस्थल र संस्थाको कार्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

बस सेवाले स्थानीयवासीलाई सहज

बागलुङको बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । बागलुङ नगरपालिकाले नगरका मुख्य सडकको स्तरोन्नति गरी सहज यातायात सञ्चालन गर्ने योजनाअनुसार बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन शुरु गरेका हुन् ।

यात्रुवाहक बसले सेवा दिन थालेपछि निजी सवारी तथा पिकअप जिपमा महङ्गो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयवासीको भनाइ छ । बलेवा भैरवस्थानदेखि बागलुङ बजारसम्म आउनका लागि रु २५० देखि ३०० तिर्ने यात्रुले बस सेवा सञ्चालनमा अएपछि रु १२० मा यात्रा गर्न पाएका छन् ।

बिहान बलेवाको भैरवस्थानबाट छुट्ने बस बेलुका बागलुङ बजारदेखि छुट्ने रुट कायम गरिएको छ । बस सेवा सञ्चालनमा आएपछि बलेवा क्षेत्रका नारायणस्थान, पैयुपाटा, अमलाचौरका स्थानीयलगायत बलेवाको प्रसिद्ध भैरवस्थान मन्दिरसम्म पुग्ने दर्शनार्थीका लागि सहज भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस