कर्णालीमा जलयात्रा पर्यटन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णालीमा जलयात्रा पर्यटन


१ कार्तिक २०७५, बिहिबार


सुर्खेत । गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उनकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो ।

खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए ।

आजभोलि रावतझैँ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । एक महीनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई रामै्र मुनाफा भएको थियो ।

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो ।

शनिबार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गरेका थिए जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढासमेत सवार थिए। उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ ।

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बङ्गलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताए । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उनको भनाइ थियो । उनले भने, “अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ ।” कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकास हुन आवश्यक रहेको उनले औँल्याए ।”

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवर्द्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजङ्गल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताए । “नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र सङ्घर्षशील जीवनका थुप्रै दृश्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ”, उनले भने, “अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।”

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ । गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरु गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विकले जानकारी दिए । “यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ”, वडाध्यक्ष विकले भन्नुभयो, “यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।” कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उनको भनाइ छ । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछामासुको माग बढ्न थालेको छ ।

सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेको आरोप लगाए। “कर्णालीबाट ९५० मात्र होइन, चार हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ”, शाहीले भने, “न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।”

उत्कृष्ट जलयात्रा र कायकिङ

नेपालका भोटेकोशी, त्रिशूली, गण्डकी, भेरीलगायत नदीमा साहसिक जलयात्रा गरिँदै आएको छ । कर्णाली विश्वमा जलयात्रामा पाँचौँ र कायकिङमा तेस्रो उत्कृष्ट नदीका रुपमा मानिन्छ । कर्णाली नदी जलयात्रामा मात्र सम्भाव्य नभई बहुआयामिक क्षेत्रको महत्व राख्दै आएको नेपाल नदी संरक्षण समितिका अध्यक्ष मेघ आले बताउँछन् ।

“विश्वका धेरै देशमा कर्णाली नदी सुरक्षित, सरल, प्राकृतिक आनन्द दिने र कम जोखिम छ”, अध्यक्ष आले भन्छन्, “यसको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार अनवरत लाग्नुपर्छ ।” कर्णालीको प्रचारप्रसार व्यापक गर्न सके यसमा जलयात्रा गर्ने स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने उनको विश्वास छ ।
पर्यटनविद् प्रेम शर्माले कर्णाली नदीको पानी र सुन्दरतामा संसारका अर्बौं मान्छेले आँखा गाडेको बताए। उनले कर्णालीलाई विश्व सम्पदाका रुपमा स्थापित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कैलाश–बुद्ध मार्ग

नेपालको सबैभन्दा लामो नदी कर्णालीले उत्तरमा भोटे, मध्य क्षेत्रमा खस, राउटे, क्षत्रीदेखि तराईका चौधरी, थारूसमेतको रहनसहन, वेशभूषा र धर्मसंस्कृति बोकेको छ । नेपाल नदी संरक्षण संस्थाले अध्यक्ष आलेसहित स्वयंसेवकका रुपमा काम गर्दै आएका भूगर्भविद् बेरेन केनेटको टोलीले मानसरोवर कैलाश र बुद्धभूमि लुम्बिनी जोड्ने विकासको नमूना आवश्यक रहेको औँल्याएको छ ।

सबै खालको हावापानी र मानव बस्ती समेटिएको विविधतायुक्त यो नदीबारे टोलीले भनेको छ, “कर्णाली नदी प्रदेश समृद्धिमा सहयोग पु¥याउने कर्णाली प्रदेशको मुख्य सम्पदा हो । यसको संरक्षण र बजारीकरण गर्न सरकारले विशिष्ट खालको योजना निर्माण गर्नुपर्छ ।”

पहिराको जोखिममा बस्ती

हिल्साबाट नेपालको हुम्ला हुँदै बगेर आउने कर्णालीसँग जोडिएको भिरालो जमीनमा मानव बस्ती छ । मूलतः तिब्बतदेखि कर्णालीको अध्ययन गर्दै आएका भूगर्भविद् बेनेटले कर्णालीका भिरालो जमीनमा रहेका बस्ती सबै जोखिममा रहेको बताएका छन् । “हिमालय पर्वतदेखि महाभारत शृङ्खलासम्मका बस्ती चलायमान छन्” बेनेट भन्छन्, “अबको छसात दशकभित्र यी बस्ती कर्णाली नदीमा खस्ने प्रबल सम्भावना छ ।” त्यसबाट सजग रहन र पूर्वसावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उनी अगाडि भन्छन्, “कर्णाली प्राचीन नदी हो । यो नदी तिब्बतीय पठार हुँदै हिल्साबाट बगेर आएका सबै चीज महाभारत पर्वतमा थेग्रिएका छन् । बाटो खन्ने, जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माणलगायत विकासका काम गर्दा भूभागको अध्ययन आवश्यक छ ।” उनका अनुसार हिमालय पर्वत बन्नुपूर्व नै कर्णाली बग्ने शुरु गरेको अनुमान छ । कर्णालीमा करीब १५० किलोमिटर जलयात्रा गर्न सकिने जानकार बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस