मुगुका सरकारी कर्मचारीको दुखेसोः दसैंमा तलब नै पाइएन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुगुका सरकारी कर्मचारीको दुखेसोः दसैंमा तलब नै पाइएन


२८ आश्विन २०७५, आइतबार


मुगु । मुगुका सरकारी कर्मचारी दसैंमा तलब नपाउँदा खिन्न बनेका छन् । सरकारी जागिरमा प्रवेश गरेको ३५ वर्षसम्म दसैं तिहार जस्ता चाडपर्वमा तलब नरोकिएको अनुभव सुनाउँदै जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी हरिचन्द्र खड्का यसपाली तलब नपाएरै दसैं खल्लो हुने भयो भन्ने पीरमा छन् ।

यसपालि कसरी दसैं खर्चको जोहो गर्ने भन्ने चिन्तामा रहेका खड्का बालबच्चालाई लुगा फाटो किन्न र घर खर्च चलाउन समेत ऋण खोज्दै छन् । उनी मात्र होइन उनी जस्तै तलब नपाएका थुप्रै कर्मचारी छन् ।

देश संघीय संरचनामा गई स्थानीय तहको गठन पछि स्थानीय तहमा गाभिएका सरकारी कार्यालयका कर्मचारीहरु दसैंमा तलब नपाएपछि समस्यामा परेका छन् ।

स्थानीय तहसँग गाभिएका कार्यालय तथा त्यहाँ काजमा खटिएका अधिकांस कर्मचारीले स्थानीय तहबाट पछि सोध भर्ना हुने गरि दसैं खर्च सापटी लिएका छन् भने गाभिएका कार्यालयका ईकाईमा बस्ने कर्मचारीले तलब नपाउदा ऋण खोज्नु परेको छ ।

जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयका कर्मचारीले समेत यो दसैंमा तलब खान पाएनन्। खानेपानी तथा सहरी विकास मन्त्रालयले अहिलेसम्म तलब नपठाएको, कर्णाली प्रदेशको सहरी विकास मन्त्रालयले तलब खुवाउने भन्ने सुनिए पनि अहिलेसम्म बजेट नआएको खानेपानी सरसफाई सब डिभिजन कार्यालयका लेखापाल सुरेश केसीले बताए ।

यसरी दसैंको मुखमा पनि तलब खान नपाउने महिला तथा जिल्ला समन्वय समिति अन्तर्गत महिला तथा बालबालिका कार्यालय, युवा तथा खेलकुद विकास, खोनेपानी, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक, जिल्ला कृषि विकास कार्यालयका दर्जनौ कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस